‘गाउँ–गाउँमा सिंहदरबार त भन्दिनँ, वीरगन्जको गल्ली–गल्लीमा राजेशमान पुग्छ’

अन्तर्वार्ता

राजेशमान सिंह, नगर प्रमुख, वीरगन्ज महानगरपालिका, पर्सा, मधेश प्रदेश

० तपाइँ वीरगन्ज महानगरको नगरप्रमुखमा निर्वाचित भएपछि गर्नुपर्ने सबभन्दा प्राथमिकताका कामहरु के थियो ?

— मैले चुनावताका नै स्पष्टरुपमा भनेको थिएँ कि वीरगन्जवासीको दैनिकीसँग जोडिएका समस्याहरुलाई निदान गर्नु मेरो पहिलो प्राथमिकता छ । जसअन्तर्गत सरसफाइ, सडक, नाला, बिजुली बती, विकास निर्माण लगायतका थुप्रै कामहरु छन् । यहाँ सम्पूर्ण क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरु पनि लथालिङ्ग अवस्था थियो । वीरगन्ज मात्रै होइन, मधेश प्रदेशकै ठूलो समस्याको रुपमा बेरोजगारी रहेको छ । त्यसकारण, वीरगन्जका जनताको दैनिकीसँग जोडिएका विषयहरुलाई मैले पहिलो प्राथामिकतामा राखेर काम अगाडि बढाइरहेको छु ।

० यसअघिका नगरप्रमुखको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

— मैले यसअघिका मेयरको कार्यको मूल्यांकन गर्नुभन्दा पनि यहाँका जनताले नै मूल्यांकन गरेर मलाई यस ठाउँमा पु¥याएका छन् । व्यक्तिगतरुपमा म यसअघिको मेयरको कामबाट सन्तुष्ट छैन । सायद वीरगन्जवासी पनि सन्तुष्ट नभएकोले नै मलाई अवसर दिएका छन् ।

० तपाइँले देखिने खालका कामहरु के–के गर्नुभएको छ त ?

— मैले भन्नुभन्दा पनि म तपाइँलाई वीरगन्ज आउन निमन्त्रणा दिन चाहन्छु । तपाइँ पहिला पनि वीरगन्ज आउनुभएको होला, तर अहिले आउनुस्, तपाइँहरु आफै मूल्यांकन गर्नुस् । मैले भन्नुभन्दा पनि के–के काम भएका छन् भनेर मेरो वीरगन्जवासीले नै बताउँछन् । म निर्वाचित भएर आइसकेपछि वीरगन्जमा वास्तवमा परिवर्तन भएको छ कि छैन भनेर वीरगन्जवासीले नै मूल्यांकन गर्छन् । म देशको चौथो अंगको रुपमा रहेका सञ्चार जगत्लाई पनि निमन्त्रणा दिन चाहन्छु कि वीरगन्ज आउनुस् । वीरगन्जमा परिवर्तनको सुरुवात भइसकेको छ, वीरगन्जले काचुली फेर्न सुरु गरिसकेको छ ।

० देशको अर्थतन्त्रमा जुन किसिमको वीरगन्जकोा योगदान छ, त्यो हिसावले केन्द्र सरकारले सहयोग गरेन भनेर यसअघिका मेयरको गुनासो थियो, यसमा तपाइँ कतिको सहमत हुनुहुन्छ ?

— धेरै हदसम्म यो कुरा सही पनि छ । तर कसैले दिएन भनेर गुनासो गर्नुभन्दा आफूसँग लिने गुण पनि हुनुप¥यो । वीरगन्जलाई यो देशको आर्थिक नगरी भनिन्छ, ८४% राजस्व उठ्छ, त्यो हिसावले वास्तवमा वीरगन्ज महानगरलाई बजेटको व्यवस्था भएको छैन । नेपालको ६ वटा महानगरमध्ये सबभन्दा कम बजेट वीरगन्जलाई दिँदै आएको छ । जुन हिसावले प्रदेश र संघ सरकारले बजेट दिनुपर्ने हो, त्यो हिसावले दिइएको छैन । यी कुराहरुका विषयमा मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु । वीरगन्जको जुन किसिमको योगदान छ, त्यो हिसावले बजेटको व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रह गरेका छौं । हामीलाई विश्वास छ कि आगामी बजेटमा संघ र प्रदेश सरकारले विशेष ध्यान दिन्छ र हामी सहयोग पाउँछौं भनेर अपेक्षा राखेका छौं ।

० भनेपछि देशको प्रमुख नाका, आर्थिक नगरीसँग राज्यले विभेद गर्दै आएको छ ?

— यो कुरा एकदम सही हो । किनभने देशको प्रमुख नाका वीरगन्ज नै हो । सबभन्दा बढी आयात–निर्यात वीरगन्जबाट नै हुन्छ । वीरगन्जवासीले धुलो र धुवाँ खाने, सडक टुट्ने तर वीरगन्जले त्यो किसिमको बजेट नपाउने । यो हिसावले राज्यले वीरगन्जलाई विभेद नै गरेको छ ।

० तपाइँ आबद्ध रहेको पार्टी जहिले पनि केन्द्रदेखि प्रदेशसम्म सरकारमै रहँदै आएको छ । तपाइँको पार्टीले वीरगन्जलाई कतिको महत्व दिएको छ त ?

— हाम्रो पार्टीले जहिले पनि वीरगन्जलाई प्राथमिकतामा राख्दै आएको छ । वीरगन्जलाई हाम्रो पार्टीले देशकै आर्थिक राजधानीको रुपमा विकास गर्ने नीति लिएको छ । केही दिन पहिला हाम्रो पर्सा जिल्लाकै सांसद प्रदीप यादव मन्त्री बन्नुभएको थियो । हामी एउटा टिममा छौं । उहाँको अगुवाईमा हामीले पर्सा जिल्लामा धेरै गरेका छौं । हामी विश्वस्त छौं कि उहाँको कार्यको मूल्यांकन गरेर फेरि पनि उहाँलाई मन्त्री बनाउँछ ।

० प्रदीप यादव मन्त्री बन्नुभयो भने पर्सा जिल्लामा विकास हुन्छ ?

— निश्चितरुपमा हुन्छ । यदि पर्सा जिल्ला यो देशको मुटु हो भने यहाँको विकासका लागि सबै पार्टीका नेताहरुले ध्यान दिन जरुरी छ । वीरगन्जको विकासका लागि सबै दलका नेताहरुको ध्यान केन्द्रित हुनुप¥यो । जुन माटोमा हामी जन्मेका छौं, त्यो माटोलाई चिन्ने खालका नेता वीरगन्जका लागि चाहियो । अनि मात्र वीरगन्जको विकास सम्भव हुन्छ । सबैलाई आफ्नो क्षेत्र प्यारो हुन्छ, सबैले आफ्नो क्षेत्रमा बजेट लग्न चाहन्छन् । त्यसैले म पनि चाहन्छु कि मेरै जिल्लाका नेता मन्त्री भइदिए भने पक्कै पनि पर्सा जिल्लाले अलि बढी बजेट पाउँछ भन्ने आशावादी छु ।

० तर, पर्सा जिल्लाकै नेता यसअघि मधेश प्रदेशका मुख्यमन्त्री हुनुभएको थियो त ?

— पक्कै पनि पर्सा जिल्लाकै मुख्यमन्त्री हुनुहुन्थ्यो र उहाँले धेरै काम गर्नुभएको छ । केही कमी कमजोरी होला तर उहाँले विकास निर्माणका क्षेत्रमा जति काम गर्नुभएको छ, त्यो सराहनीय नै छ । हामीले मुख्यमन्त्री पाउँदा विशेष गरी पर्सा जिल्लाले धेरै कुरा पाएको छ ।

० तपाइँ निर्वाचित भएर आएपछि पहिलो बजेट ल्याउनुभएको थियो । त्यो बजेटको कति खर्च गर्न सक्नुभयो कि असारे विकासका लागि कुरिरहनुभएको छ ?

— जब हामीले कार्यभार सम्हाल्यौं अनि स्पष्टरुपमा भनेका थियौं कि असार महिनामा वीरगनज महानगरमा कुनै पनि विकास निर्माणका कार्यहरु हुँदैन । जेठको अन्तिमसम्ममा विकास निर्माणका सम्पूर्ण काम बन्द भइसकेको हुन्छ । अहिलेसम्म हामीले करिब ४८ प्रतिशत बजेट चलाइसकेका छौं ।

० असार आउन अब धेरै समय त बाँकी छैन नि ?

— अहिले पनि हामीसँग थुप्रै समय छ । गर्न चाह्यो भने हाम्रो लागि पर्याप्त समय छ । हामीले वीरगन्जवासीसँग वाचा गरेका छौं कि बैशाख १ गते केही समर्पित गर्नेवाला छौं । त्यो वीरगन्जवासीका लागि मात्र नभई सबै ठाउँका मान्छेका लागि आकर्षणको केन्द्र बन्नेछ । त्यस्ता ठाउँहरु हामी समर्पण गर्न लागेका छौं । हामीसँग एउटा टिम छ र हामीसँग हौसला छ कि गर्न सक्छौं । तसर्थ, समयले केही हुँदैन । हामी दिनरात लगाएर खटिरहेका छौं । मैले केही नयाँ कुरा बैशाख १ गते वीरगन्जवासीलाई समर्पण गर्ने बाचा गरेको छु ।

० बैशाख १ गते वीरगन्जवासीका लागि “सरप्राइज” दिँदै हुनुहुन्छ ?

— सरप्राइज नै हो । चैत ३० गतेदेखि ३ दिनका लागि नेपालमा पहिलो पटक वीरगन्जमा हामी रात्री बजार लगाउने अवधारणा ल्याएका छौं । यदि त्यसमा हामी सफल हुन्छौं भने सधैंका लागि रहिरहन्छ । अहिले नेपाल आर्थिक तरलताको अवस्थाबाट गुज्रिरहेको छ, त्यसबाट वीरगन्ज पनि अछुतौ छैन । तसर्थ, हामीले रात्री बजारलाई व्यवस्थापन गर्न सक्यौं र छिमेकी राष्ट्र भारतबाट पर्यटक भित्र्याउन सक्यौं भने आर्थिक अवस्था चलायमान हुन्छ । खासगरी मेरो जोड के छ भने वीरगन्जका युवाहरुले त्यहाँ रोजगारी पाउँछन् ।

० रात्रीकालीन बजारमा कस्तो हुनेछ ?

— त्यो बजारमा हरेक किसिमका चीजहरु हुन्छन् । थाइल्याण्ड, मलेसियाको पनि मैले रात्री बजार हेरें, अध्ययन गरें । सोहीअनुसार यहाँको वातावरणसँग सुहाउँदो खालका सामानहरु हुन्छन् । लगाउने कपडा, खानेकुरा, मनोरञ्जन लगायतका हुन्छन् ।

० यसले विकृत्तिजन्य कुराहरु निम्तिँदैन ?

— केही विकृत्ति निम्तिदैन । आफू सही हुनुहुपर्छ । हामीले सेवा दिने भावले यो अवधारणा ल्याएका छौं । अहिले आर्थिक तरलताको अवस्था छ । यसले अर्थतन्त्र उकास्न पनि मद्दत गर्छ । यसबाट कुनै किसिमको विकृत्ति आउँदैन । यसका वीरगन्ज महानगरले निरन्तर निगरानी गर्छ । वीरगन्जवासी लगायत बाहिरका पर्यटकहरुलाई पनि आग्रह गर्न चाहन्छु । यो विषयमा वीरगन्जवासीको पूर्णरुपमा साथ र सहयोग रहन्छ ।

० वीरगन्जको नारायणी अस्पतालमा धेरै समस्याहरु छन्, वीरगन्ज महानगर के गर्दैछ ?

— नारायण अस्पताल यस भेगकै सबभन्दा ठूलो अस्पताल हो । तर जुन हिसावले त्यहाँ जनशक्ति हुनुपर्ने हो, त्यसको अभाव छ । मेसिनहरु छन् तर त्यसलाई चलाउने दक्ष जनशक्तिको अभाव छ । अस्पतालभित्रका कर्मचारीबाट हामी सन्तुष्ट छैनौं । नारायणी अस्पताल संघीय सरकारअन्तर्गत परेकोले महानगरले हस्तक्षेप गर्न गाह्रो भइरहेको छ । तर, हामी अनुगमनको कार्यहरु सुरु गरेका छौं । केही दिनमै यसको नतिजा आउँछ भन्नेमा हामी विश्वस्त छौं । हाम्रो सांसद प्रदीप यादवले संसदभित्र यो कुरा उठाउनुभएको थियो । नारायणी अस्पतालमा दरबन्दीअनुसार कर्मचारी दिनुप¥यो । बजेटको अभाव छ, दरबन्दीअनुसार कर्मचारी दिनुप¥यो । त्यसकारण, नारायण अस्पताललाई सुधार गर्न हामी अथक प्रयास गरिरहेका छौं ।

० तपाइँ आफ्नो कार्यकालभित्र स्मरणीय काम जुन गर्नैपर्ने, त्यो के हो ?

— वीरगन्ज महानगरलाई नेपालमा मात्रै हैन, विश्वमा नै चिनाउने मेरो लक्ष्य रहेको छ । खासगरी, हामी वीरगन्जलाई धार्मिक पर्यटकस्थलको रुपमा अगाडि बढाएका छौं । वीरगन्जमा १३५ वर्ष पूरानो नरसिंह भगवानको मन्दिर छ । नेपालमा एक मात्र नरसिंह भगवानको मन्दिर हो त्यो । जुन अहिले एकदम जीर्ण अवस्थामा छ । त्यसलाई जीर्णोद्धार गरेर धार्मिक पर्यटनको रुपमा विकास गर्न लागेका छौं । काठमाडौंको पशुपतिनाथ मन्दिर जस्तै शिवलिङ्ग भएको मन्दिर वीरगन्जमा पनि छ । यस्तै, विन्दवासिनी माईको मन्दिर छ । प्रचार–प्रसारको अभावमा यस्ता धार्मिकस्थलहरु ओझेलमा परेका छन् । यस्ता थुप्रै योजनाहरु छन्, जुन पूरा भएपछि मैले भन्नुभन्दा पनि यहाँका जनताले नै स्मरण गर्नेछन् ।

० भनेपछि, सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा जनताले महसुस गर्छन् ?

— म वीरगन्जको छोरो हुँ । मेरो जन्मभूमि र कर्मभूमि वीरगन्ज हो । म वीरगन्जवासीसँग जुडेको व्यक्ति हुँ । त्यो हिसावले म गाउँ–गाउँमा सिंहदरबार भनिनँ, तर प्रत्येक टोल र वडामा राजेशमान सिंह पुग्छन् । मेरो कार्यकालको दश महिना पूरा भएको छ, यसमा केही गुनासाहरु होलान् । गाउँ–गाउँमा सिंहदरबार भन्ने जुन नारा दिइएको छ, त्यो कसरी हुन्छ । अहिले विभिन्न आवश्यक कानूनहरु बनिसकेको छैन । कानून नबनेसम्म काम गर्न अप्ठ्यारो छ, कर्मचारीको अभाव छ । यस्ता विभिन्न कुराहरु छन् । यो नारामा मात्र सीमित छन् । यसर्थ गाउँ–गाउँमा सिंहदरबार त भन्दिनँ, वीरगन्जको परिप्रेक्ष्यमा वीरगन्जको गल्ली–गल्लीमा राजेशमान पुग्छ ।

० तपाइँको छिमेकी जिल्ला बाराको निर्वाचन क्षेत्र नं. २ उपनिर्वाचन हुन लागेको छ । त्यहाँको चुनावी माहोललाई कसरी हेदैै हुनुहुन्छ ?

— बारा–२ मा निश्चित छ कि हाम्रो जसपाका अध्यक्ष उपेन्द्र यादवको विजय हुन्छ । केही यस्ता मान्छेहरु छन्, जसले विभिन्न अफवाह फैलाइरहेका छन् । उनीहरु मुद्दा उठाउँछन् तर, त्यसमा कायम रहँदैनन् । मुद्दा फेर्दै हिंडेका छन् । जसपा एउटा सिद्धान्त र मुद्दा बोकेर आज राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । हामी मधेशको हकअधिकारका लागि जहिले पनि संसददेखि सडकसम्म कुरा उठाइरहेका छन् । तर अहिले केही व्यक्तिहरु च्याउजस्तै उम्रेका छन्, जुन आफ्नो सिद्धान्त छोडेर सरकारमा सहभागी भएका छन् । उनीहरु कताबाट सञ्चालित भएका छन् भन्ने कुरो बुझ्न गाह्रो छ । उनीहरुले जुन अफवाह फैलाइरहेका छन्, त्यसलाई बारा २ का चिर्छन् । उपेन्द्र यादव अत्याधिक बहुमतले निर्वाचित हुनुहुन्छ ।

० तर उपेन्द्र यादवलाई फिरंगी, बाहिरिया लगायतका ट्याग लगाइँदैछ नि ?

— जो काम गर्छ उसैमाथि आरोप लाग्छ । आज मुलुकमा संघीयता स्थापना भएको छ, यसमा सबभन्दा मुख्य भूमिका उपेन्द्र यादवजीको नै हो । महान मधेश आन्दोलनको अगुवाई उपेन्द्रले गर्नुभएको छ । यी सब कुरा मनन् गरेर जनताले मूल्यांकन गर्छन् । गत पाँच वर्षमा सप्तरीमा जुन किसिमको विकास भएका छन्, त्यसमा उपेन्द्र यादवको मुख्य भूमिका छ । सप्तरीका जनता बहकाउमा परे र उहाँ पराजित हुनुभयो । उहाँ बारामा जित्नुभयो भने कायापलट हुन्छ । बाराका जनता भ्रमित हुँदैन । बारा २ बाट उपेन्द्र यादवको एकल नाम सिफारिस भएको छ । त्यहाँको क्षेत्रीय भेलामा हराजौं जनताको उपस्थिति रहेको थियो ।

० गत निर्वाचनमा ३५४ मतले मात्र पराजित भएका तत्कालीन माओवादी नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीबाट उम्मेद्वार हुने घोषणा भएको छ, यसले चुनौती थपिएको छैन ?

— केही चुनौती छैन । त्यो चुनावमा स्वतन्त्रबाट उठेकाहरु अहिले हाम्रो पार्टीमा हुनुहुन्छ । स्वतन्त्रबाट उठेका र हामीले पाएको मतलाई पनि जोड्नुस् न । उहाँहरु सबै हामीसँगै हुनुहुन्छ, उहाँहरुले नै उपेन्द यादवको एकल नाम सिफारिस गर्नुभएको हो । उपेन्द्रजी मधेश मात्रै होइन, यो देशकै राजनीतिको एउटा मजबुत खम्बा हुनुहुन्छ ।

० अन्त्यमा, वीरगन्ज महानगर छिमेकी मित्रराष्ट्र भारतको सीमासँग जोडिएको छ, खुल्ला सिमाना छ । सीमाको विषयलाई लिएर विभिन्न किसिमका कुराहरु आउने गरेका छन् । यसलाई तपाइँ कसरी लिनुहुन्छ ?

— छिमेकी मित्रराष्ट्र भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ । यो सम्बन्ध आजको होइन, सदियौंको हो । म मेयरमा निर्वाचित भइसकेपछि बिहारका कतिपय ठाउँमा भगिनी सम्बन्धका लागि प्रक्रिया अगाडि बढाएको हुँ । सीमानाका बन्द गर्नुपर्ने कुनै आवश्यक छैन । उग्रराष्ट्रवादीहरुले सीमामा तारवार लगाउनुपर्ने कुराहरु उठाउँछन् । भारतलाई गाली गर्दा ठूलो राष्ट्रवादी हुने जुन सोचबाट ग्रसित मानिसहरुको यस्तो धारणा हो । तारजाली लगाउनुपर्ने कुनै आवश्यकता छैन । मधेशका प्रत्येक जनता नेपालका सिपाही हुन् । नेपालको सीमाको रक्षा यहाँका स्थानीय नागरिकले गर्दै आएका छन् । भारतले नेपालको जहिले हित चाहेको छ । सदियौंदेखिको हाम्रो सम्बन्धलाई कायम राखेर हामी अगाडि बढ्नुपर्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ