० आइतबार उपनिर्वाचन हुँदैछ । बुधबार राति १२ बजेदेखि मौन अवधि पनि सुरू भइसकेको छ । तपाइँ अहिले बारामै हुनुहुन्छ, चुनावी सरगर्मी कस्तो छ ?
— मौन अवधि सुरू हुनु केही घण्टा अगाडि पाँच दलीय गठबन्धनले ठूलो आमसभा गरेको थियो । त्यो आमसभामा लगभग २० हजारभन्दा बढी आमजनमानसको सहभागिता रहेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलको समर्थन छ । पाँचै दलका नेता कार्यकर्ताहरू उपेन्द्र यादवलाई जिताउनका लागि खटिरहेका छन् । अहिलेसम्मको स्थितिअनुसार जसपा नेपाल निर्वाधरूपले विजयी भइरहेको छ ।
० जसपाको प्रतिस्पर्धा कोसँग छ ?
— अहिलेसम्म खासै कोहीसँग हाम्रो प्रतिस्पर्धा देखिएको छैन । अर्का उम्मेद्वारहरूले पनि केही न केही मत त अवश्य ल्याउनुहुन्छ होला । तर अत्यधिक फराकिलो मतान्तरले हामं्रो पार्टी अध्यक्ष उपेन्द्र यादव जित्दै हुनुहुन्छ ।
० तर, गत मंसिर ४ गते सम्पन्न आमचुनाव पनि तपाइँहरूले आफ्नो प्रतिस्पर्धी देख्नुभएको थिएन । बाजी त पल्टियो नि ?
— निर्वाचन त निर्वाचनै हो । खेल र निर्वाचनमा को जित्छ, को हार्छ पहिल्यै डिक्लियर गर्न मिल्दैन । त्यसमध्येकै रेयर परिणाम थियो सप्तरीको निर्वाचन । सप्तरीभन्दा पनि बढी उत्साह अहिले मैले बारामा देखेको छु । बारामा कुनै पनि त्यो प्रकार प्रतिस्पर्धा मैले देखिरहेको छैन । त्यसैले हामी यहाँ अत्यधिक आशावादी छौं ।
० सप्तरी जस्तैको अवस्था बारामा दोहोरिँदैन ?
— दोहोरिँदैन । सप्तरीभन्दा राम्रो अवस्था छ । यहाँका कार्यकर्ताहरू पनि चनाखो छन् ।
० तर सप्तरीमा उपेन्द्र यादव २०७४ को चुनावमा जित्नुभएको थियो, त्यहाँ काम पनि राम्रो गर्नुभएको थियो । बारा २ का लागि त उहाँ नयाँ पात्र हुनुहुन्छ । तर बाजी त पल्टियो नि ?
— यो नेपालीहरूको नानीदेखि लागेको बानी हो । स्थानीय चुनावमा पनि ७५३ वटै पालिका, प्रदेशसभा र प्रतिनिधिसभामा सर्वेक्षण गरियो भने थोरै मात्र प्रतिनिधि निर्वाचनमा दोहोरिने गरेका छन् । अर्थात् नेपालका मतदाताले एउटै पात्रलाई पटक–पटक दोहो¥याउँदैन । जनताको अपेक्षा धेरै छन्, ती सबै अपेक्षा सायद पूरा हुन नसकेको होला । यी र यस्ता कारणले थोरै मात्र व्यक्ति दोहोरिन्छन् ।
० मिडियाहरूको सर्वेक्षणअनुसार बारा २ मा जनमत पार्टी त सबैभन्दा अगाडि छ ?
— ती सर्वेक्षणहरूका रिपोर्ट मिथ्या मात्र हुन् । कुनै न कुनै आग्रह–पूर्वाग्रहबाट उत्प्रेरित मिडियाहरूले त्यस्ता रिपोर्टहरू सार्वजनिक गरेका होलान् । म अहिले निर्वाचन क्षेत्रमै छु । यहाँका गाउँ–गाउँ घुमेको छु । त्यो आधारमा म ठोकुवाका साथ भन्दैछु ।
० उपेन्द्र यादवसँग बारा २ का जनताको अपेक्षाहरू के–के छन् ?
— बारा जिल्ला बडो गौरव र ऐतिहासिक ठाउँ रहेको छ । यही जनता गएर कहिले काठमाडौंमा शासन गरेका छन् । मधेशकै ठूलो राजधानी सिम्रौनगढ ऐतिहासिक छ । बारामा एउटा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको यहाँका जनतामा मैले देखें । बेरोजगारी समस्या अन्य जिल्लाभन्दा अलि कमै छ । वैदेशिक रोजगारीमा यहाँका युवाहरू थोरै गएका छन् । यी कुराहरू यहाँका सुन्दरता छन् । यहाँ उद्योग, कलकारखानाले भरिपूर्ण छ । तर यहाँ किसानहरूका लागि सिंचाइको ठूलो समस्या छ । सरकारी रोजगारीमा धेरै अपेक्षा छन् । पछिल्लो दिमा यहाँका जनता धेरै गौरवान्वित छन् । उहाँहरूले चुन्नुभएको जनप्रतिनिधि यो देशको उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । यी र यस्ता परिस्थितिले उहाँहरू बहुत गौरवान्वित हुनुहुन्छ । थोरै आवश्यकताहरू छन्, जुन हामी पूरा गर्ने प्रयास गर्छौं ।
० बारामा उपेन्द्र यादवले विकासको लहर ल्याउनुहुन्छ ?
— उपेन्द्र यादव आफै यो देशकै एउटा शीर्षस्थ नेतामध्ये हुनुहुन्छ । उहाँलाई विजय गराउनका लागि देशका सबै ठूला नेताहरू बारा आएका थिए । यसले थाहा हुन्छ कि उपेन्द्र यादव कतिको उँचो तहको नेता हुनुहुन्छ । एक जना उँचो तहको नेता कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि त्यहाँ विकासको मूल फुट्छ नै । सप्तरीमा पनि विकासको मूल फुटेकै हो । बारामा पनि विकासको मूल फुट्ने धेरै नै आशा छ । राष्ट्रिय योजना आयोगले आफ्नो पञ्च वर्षीय योजनाहरू तयार गरिरहँदा ठूला नेताहरूलाई सोध्ने गरेको हुन्छ । उपेन्द्र यादवले कुनै कुरो भन्नुभयो भने राज्यले सहजै मान्न सक्नेछ । यी सबै अवस्थाका कारण म भन्न सक्नु बारा जिल्लामा अब विकासको मूल फुट्छ ।
० सप्तरी २ मा उपेन्द्र यादवलाई हराएर विजयी भएका सीके राउतको कार्यकाल पाँच महिना बित्यो । कतिको परिवर्तन भयो ?
— म त सोही निर्वाचन क्षेत्रको हुँ । पछिल्लो पाँच महिनादेखि सप्तरीका जनताले डा.सीके राउतलाई खोज्दैछन् । उहाँले सप्तरीका जनतालाई भन्नुभएको थियो कि १० युवालाई रोजगारी दिन्छु, किसानको खेत–खेतमा खाद पु¥याउँछु लगायतका धेरै बाचा गर्नुभएको थियो । पाँच महिनादेखि त्यहाँको हालबेहाल छ । सप्तरीको एउटा अस्पताल छ, त्यसलाई तल्लोस्तरबाट धेरै माथि उठाउने काम उपेन्द्र यादवले गर्नुभएको थियो । अहिले आएर त्यहाँका अधिकांश मेसिनहरू बिग्रेका छन् । डा.सीके राउतले गुनासो सुन्नका लागि एउटा बाकस राख्नुभएको थियो । आमजनताले गुनासै–गुनासाले त्यो बाकस भरेका छन् । त्यहाँको अवस्था धेरै नै दयनीय भएको छ । पाँच महिनादेखि त्यहाँका आममतदाताले खोज्दैछन् तर उहाँ भेटिरहनुभएको छैन ।
० यो उपनिर्वाचनपछि मधेश प्रदेश सरकारको नेतृत्व जसपाले नेपाली कांग्रेसलाई दिने भन्ने सहमति भएको हो ?
— अहिलेसम्म मधेश प्रदेशमा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । मधेश प्रदेशको सरकारै परिवर्तन हुने कुनै सम्झौता कहीं कतै गरिएको छैन । यस्तो कसैले दाबी वा चर्चा गर्छ भने त्यो किमार्थ गलत हो । अहिलेसम्म मधेश प्रदेशको सरकार निर्विवाद छ । मधेश सरकारले केही गतिला कामहरू गर्न प्रारम्भ गरेको छ । यी सबै हेर्दा कांग्रेसले यदि दाबी गर्छ भने अस्वाभाविक होइन । कांग्रेस बाहेकका दलहरूले दाबी ग¥यो भने त्यो महाअस्वभाविक हो । मधेश प्रदेशमा कांग्रेस बाहेकले दाबी गर्नु उसको हैसियतमा छैन । आगामी दिनमा कार्यकाल बाँड्न सकिन्छ । तर सुरूको कार्यकाल जसपाले नेतृत्व गरिरहेकोले र अहिलेसम्म कुनै प्रकारको आलोचना खेप्नुनपरेकोले यही सरकारलाई मौका दिनुपर्छ । हामी सबै दलहरूको एउटा मूल उद्देश्य छ, सुशासन । सुशासनका लागि सरकार स्थिर हुनुपर्छ । त्यहीं हुनेवाला छ ।
० तर, उपनिर्वाचनपछि मधेश सरकारको नेतृत्व कांग्रेसले लिने भद्र सहमति भएको सुनिन्छ नि ?
— त्यस्तो मलाई लाग्दैन । यो देशमा संविधान, गणतन्त्र, संघीयता जोगाउनका लागि प्रतिबद्ध रहेको छ । एक जना सनकी नेताले हठात् यो संविधानलाई मिच्न खोज्दा उपेन्द्र यादवकै पहलमा पछिल्लो दिनमा पाँच दलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धन अहिले पनि कायम रहेको छ । समय–समयमा गठबन्धनको बैठक हुने गरेको छ । त्यो बैठकमा मधेश सरकारको नेतृत्व परिवर्तनबारे कुनै किसिमको चर्चा भएको छैन ।
० अहिलेको आधिकारिक पाँच दलीय हो कि दश दलीय ?
— पाँच दलीय गठबन्धन नै आधिकारिक हो । बाँकी केही दल र नेता गठबन्धनमा रहेर पनि पटक–पटक अनुशासनहीन काम गरिरहेका छन् । जस्तै, उपराष्ट्रको निर्वाचनमा सीके राउतले उदण्डता देखाए, बारा २ को निर्वाचनमा पनि उदण्डता देखाउँदैछन् । गठबन्धनकै बैठकमा उम्मेद्वारको छनौट हुँदा आफ्ना विचार प्रष्ट रूपमा राख्नुपर्छ । तर, गठबन्धनको निर्णयलाई सबैले आत्मसात गर्नुपर्छ । गठबन्धनको निर्णयविपरीत गतिविधिहरू देखियो ।
० यो उपनिर्वाचनपछि मधेश प्रदेश सरकारमा जनमत पार्टी रहिरहन्छ कि हट्छ ?
— मधेश सरकारमा बस्ने नि जाने भन्ने कुरा सीके राउतले भन्नुहोला । तर, जुन अनुशासनहीनता उहाँले पटक–पटक देखाउँदै हुनुहुन्छ, त्योअनुसार उहाँ मधेश सरकारबाट आफै निस्केर जानुभएन भने हामी मन्त्रिपरिषद्बाट हटाउन बाध्य हुन्छौं ।
तपाईको प्रतिक्रिया