० तपाइँको राजनीतिक पृष्ठभूमि लामो छ, तर कुनै एउटा दलमा किन टिक्न सक्नुभएन ?
— सबैभन्दा पहिलो कुरा, हामी कसैको भत्ता खाएर राजनीति गरेका छैनौं । आफ्नो खाएर, आफ्नो लाएर राजनीति गरिरहेका छौं । जब विचार, व्यवहार मिल्दैन भने त्यहाँ बसेर नेताको चाकरी गरेर किन बस्ने ? जो एउटै दलमा रहिरहेका छन्, उसले जनताका लागि के गरेका छन् ? उसले भ्रष्टाचार र दलाली गरेका छन्, तर ममाथि एउटा पनि त्यस्तो आरोप लागेको छैन । मेरो राजनीति कम्युनिष्टबाट सुरु भएको हो । शोषक, सामन्तीको सत्ता पल्टाएर सर्वाहारा र किसानको सत्ता ल्याउने भनेर जनवादी क्रान्ति गर्नुपर्छ भनेर लागेको थिएँ । तर अहिले सारा नेताहरु भ्रष्टाचारी भइसकेका छन् । त्यसकारणले आफ्नो जहाँ विचार मिल्छ, व्यवहार मिल्छ त्यहाँ म लाग्ने हो ।
० २०७४ को प्रदेशसभा चुनावमा उपेन्द्र यादवको पार्टीबाट चुनाव जित्नुभएको थियो, उपेन्द्र यादवसँग मुख्यमन्त्री माग्नुभएको थियो नि ?
— म प्रदेशमा चुनाव लड्ने सोच नै बनाएको थिएन । मलाई मुख्यमन्त्री दिन्छ भनेर नै प्रदेशमा लडाएको थियो । त्यसैले मैले मुख्यमन्त्रीका लागि दाबेदारी गर्नु स्वाभाविक हो ।
० उपेन्द्र यादवले मुख्यमन्त्री बनाउने आश्वासन दिनुभएको थियो ?
— उपेन्द्र यादवले तत्कालीन प्रदेश नं. २ मा हाम्रो सरकार बन्ने सम्भावना छ, तपाइँ अनुभवी राजनीतिज्ञ हुनुहुन्छ, तपाइँ प्रदेशमा लड्नुस्, तपाइँलाई महत्वपूर्ण जिम्मेवारी दिन्छौं भनेर भन्नुभएको थियो । जसपामा जातिवाद छ ।
० तपाइँलाई महत्वपूर्ण जिम्मेवारी दिने भनेर आश्वासन दिइयो तर एउटा मन्त्री पनि बनाइएन किन ?
— त्यो कुरा त उहाँसँगै सोध्नुपर्छ । म उहाँको स्वजाति यादव थिएन । मेरो सबभन्दा कमजोर पक्ष म उहाँको स्वजातीय थिइनँ । उहाँलाई नजराना चढाउने म थिएन ।
० पछिल्लो चुनावमा जसपाले तपाइँलाई टिकट नदिँदा हतारमा माधव नेपालको पार्टी प्रवेश गर्नुभयो नि ?
— टिकट नपाएर मैले जसपा परित्याग गरेको थिएन, यो चुनावमा विशेष परिस्थिति आयो । म त पहिले नै जसपा छोडिसकेको थिएँ । जसपाभित्र जातिवाद, द्रव्यवाद, तत्कालीन सरकारको कमिशनखोरी, भ्रष्टाचारबाट आजीत भएको थिएँ । गत चुनावमा मसँग मान्छेहरुले धोकाधडी गरे । टिकट दिने भनेर भनिरह्यो तर अन्तिम समयमा नदिएपछि बाध्य भएर म माधव नेपालको पार्टीबाट चुनाव लडे्र । म त स्वतन्त्र उम्मेद्वारी दिने योजनामा थिएँ ।
० तपाइँ कुनै बेला मधेशमा सशस्त्र भूमिगत समूह पनि चलाउनुभयो । पछि सरकारसँग वार्ता गरेर मूलधारको राजनीतिमा आउनुभयो । त्यतिबेला र अहिलेको मुद्दामा कतिको भिन्नता छ ?
— नेपालमा सत्ता सञ्चालन गर्नेहरुको नियत ठिक छैन । नेपालमा पार्टी छैन, नेपाली जनता र देशको ढुकुटी लुट्ने तप्का छन् । तिनीहरुले नै सरकार सञ्चालन गरिरहेका छन् । तत्कालीन अवस्थामा हामीसँग वार्ता त ग¥यो तर हाम्रो एउटा पनि माग पूरा गरिएन । नेपालमा यस्तै चलन छ ।
० तराई अलग राष्ट्र हुनुपर्छ भन्ने जयकृष्ण गोइतसँग पनि काम गर्नुभयो र अहिले जनमत पार्टी जो कुनै बेला स्वतन्त्र मधेशको वकालत गर्दै थियो त्यो पार्टीमा लाग्नुभएको छ । जनमतसँग तपाइँको एजेण्डा मिल्छ ?
— त्यतिबेला हामी हतियार उठाएर सशस्त्र संघर्ष गर्दै थियौं त। सीके राउतजी गान्धीवादी र शान्तिपूर्ण तरिकाले आफ्नो अभियान चलाउनुभएको थियो । त्यहाँ हाम्रो मुद्दा त मिल्छ । त्यतिबेला परिस्थिति हाम्रो अनुकूल भएन र न सीके राउतको भयो । अब यो देशमा भएको सबैखाले विभेदलाई समाप्त गरेर एउटा सवल राष्ट्र बनाउ भनेर सीके राउतजी लाग्नुभएको छ । कुनै पनि आन्दोलन वा क्रान्ति गर्नका लागि अनुकूलता चाहिन्छ । जनतालाई अधिकार दिलाउनका लागि जनताकै बीचमा जानुपर्छ । त्यसकै लागि हामी संघर्ष गरिरहेका छौं ।
० भर्खरै खुलेको जनमत पार्टीमा तपाइँ लाग्नुको कारण के छ ?
— नेपाली राज्यसत्ताले मधेशी जनतासँग जुन व्यवहार र विभेद गरिरहेको छ, त्यसको विरुद्धमा समय–समयमा आवाज उठ्दै आएको छ । अब जनमत पार्टीमै बसेर मधेशलाई अधिकार दिलाउने, सबल बनाउने उद्देश्य रहेको छ । मधेश सबल नभइकन नेपाल सबल हुन सक्दैन ।
० जनमत पार्टीले मधेशको अधिकार दिलाउन सक्छ ?
— जनमत पार्टीले त अहिले यही अभियान लिएर अगाडि बढ्दैछ । केही तप्काले हाम्रो भूमिलाई नेपाल भन्छन्, तर यो भूमिका मान्छे नेपाली होइनन् भन्छन् । यस्तो त संसारको कुनै देशमा छैन । मधेशको धर्तीमा जन्मेका हामी मान्छेहरु जुन पीडा महसुस गरिरहेका छौं, त्यसलाई हटाउन हामी अभियानमा लागेका छौं । जब हामीलाई विदेशी भनेर हेर्छन्, तब सबभन्दा बढी अपमानित भएको महसुस हुन्छ । यसैको विरुद्धमा हाम्रो लडाइ हो ।
० मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादवले यदि मधेशलाई अधिकार दिलाउन सक्दैन भने सीके राउत कसरी सक्नुहुन्छ ?
— उपेन्द्र यादवजी जुन बेला आउनुभयो र आन्दोलन गर्नुभयो, त्यो बेलामा पनि उहाँको शक्ति थिएन । राजनीतिक र क्रान्तिकारी शक्ति आन्दोलनको मैदानबाट जन्मिन्छन् । उपेन्द्रजी पनि सुरुमा केही पनि हुनुहुन्थेन । तर, उपेन्द्र यादवले पाउनुभएको शक्तिलाई मधेश र देशका लागि प्रयोग नगरेर पैसा कमाउने पेशा बनाउनुभयो । उहाँले त मधेशवाद के हो भन्ने थाहा छैन भन्नुहुन्छ । त्यहीं मधेशवादको आडमा उहाँ त्यत्रो राजनीतिक उचाइ पाउनुभयो तर पछि भन्नुभयो मधेशवाद के हो पढेकै छैन भन्नुभयो । उहाँले आफ्नो छोडिसक्नुभएको छ । उहाँले नेपालको एक पटक प्रधानमन्त्री बन्ने सपना हेर्दै हुनुहुन्छ ।
० उपेन्द्र यादव प्रधानमन्त्री बन्ने कतिको सम्भावना देख्नुहुन्छ ?
— अब केको सम्भावना हुनु । उहाँ त बल्ल–बल्ल पाँच दलको सहयोग लिएर, साम–दाम लगाएर चुनाव जित्नुभयो । अब के उहाँ प्रधानमन्त्री बन्नुहुन्छ । उहाँ प्रधानमन्त्री बन्दैमा मधेशको समस्या समाधान हुन्छ त ? उहाँ अब व्यापारी भइसक्नुभएको छ । उपेन्द्रजी व्यापारी भइसक्नुभएको छ, सीमित घेरामा हुनुहुन्छ, साम्प्रदायिक सोचले ग्रसित हुनुहुन्छ । यति कुरा थाहा हुँदाहुँदै उहाँसँग टाँसिएर बसिरहने ?
० तपाइँ विभिन्न दल परिवर्तन गर्दै आउनुभएको छ, जनमत पार्टीमा कति दिन टिक्नुहुन्छ ?
— हेर्दै जाउँ । जबसम्म सीके राउतजीमा इमान्दार, त्याग छवि हुन्छ, तबसम्म हामी उहाँको दायाँ–बायाँ भएर हिंड्छौं ।
० सीके राउत पनि परिवारवादमा सीमित हुनुभयो भन्ने आरोपहरु लागेका छन् नि ?
— आरोप त जोसुकौमाथि लाग्छ । जब भगवानमाथि पनि आरोप लाग्छ भने उहाँ त एउटा इन्सान हो । सीके राउतसँग जसलाई डर छ, उसले त विभिन्न आरोपहरु लगाइहाल्छन् ।
० तपाइँ प्रतिनिधित्व गर्ने पर्सा जिल्लामा त जसपा बलियो छ, आगामी चुनावमा तपाइँलाई सहज होला ?
— विगतमा पर्सा जिल्लामा उपेन्द्र यादवको पार्टीको अवस्था के थियो, त्यो त हामीले हरेका छौं । हेर्दै जाउँ, आगामी दिनमा कस्तो हुन्छ ।
० पर्सा जिल्लामा अहिले जनमतप्रति आकर्षण बढ्दै गएको हो ? यो आकर्षण आगामी दिनमा पनि कायम रहन्छ ?
— पर्सा जिल्ला मात्र नभएर मधेशसहित देशभरि नै जनमत पार्टी र डा.सीके राउतप्रति आकर्षण बढ्दै गएको हो । आगामी दिनमा जनमत पार्टीले आफ्नो मुद्दालाई कसरी अगाडि बढाउँछ, त्यसमा निर्भर पर्छ । जनमतले देश र मधेशका मुद्दालाइृ मजबुतीका साथ उठाउँछ र जनतासँग एकाएकार भएर अगाडि बढाउँछ भने जनमत बढ्दै जान्छ । म जनमत पार्टीमा प्रवेश गर्दा मलाई धेरै ठाउँबाट फोन आए, कहींबाट पनि नकारात्मक कुरा आएन । गाउँ–गाउँबाट मलाई फोन आयो कि जनमतमा प्रवेश गर्नेबारे हामीसँग सल्लाह गर्नुभएन भन्ने गुनासो आयो । जनतामा एक किसिमको उत्साह देखियो । विभिन्न पार्टीहरुबाट मान्छेहरु निराश भइसकेपछि अहिले आएर जनमत पार्टीप्रति आकर्षण बढेको छ । सीके राउतले मधेशको मुद्दालाई सही ढंगले अगाडि लिएर बढ्छ भनेर जनतामा आशा जागृत भएको छ । आमजनतामा जनमत पार्टीप्रति आकर्षण बढेको छ र यसले केही गर्छ कि भन्ने आशा पलाएको छ ।
तपाईको प्रतिक्रिया