० नेपाल–भारत व्यापार सम्बन्धका विषयमा चिनियाँ राजदूतले दिएको अभिव्यक्तिलाई कसरी लिनुहुन्छ ?
— अनावश्यक कुरा गर्ने चीनको नियति नै रहेको छ । नेपाल र भारतबीच सांस्कृतिक, जनस्तरकोको सम्बन्ध सदियौंदेखि रहँदै आएको छ । यो सम्बन्धमा एउटा छिमेकीको नाताले अमर्यादित अभिव्यक्ति दिनुले स्पष्ट संकेत गर्छ कि नेपालका नेताहरु आफ्नो स्वविवेकले राजनीति गरिरहेकै छैन । नेपाल र भारतबीचको कुनै पनि सम्बन्धका बारे चिनियाँ राजदूतावासबाट राजदूतको अभिव्यक्ति नआउनुपर्ने हो । राजदूतावासको एउटा आफ्नै मर्यादा हुन्छ । तर चिनियाँ राजदूतले आफ्नो मर्यादाबाहिर गएर अभिव्यक्ति दिएका छन् । नेपाल र भारतबीच जुन धार्मिक, सांस्कृतिक, जनस्तर, राजनीतिक, व्यापारिक सम्बन्ध छन्, त्यसलाई बिगार्ने उद्देश्यले चीनको तर्फबाट आधिकारिक अभिव्यक्ति दिइएको हो । नेपालमाथि जुनसुकै विषम् परिस्थिति वा संकट आउँदा भारत जहिले पनि एउटा असल मित्रजस्तै निःस्वार्थभावले उभिएको हुन्छ । कहिल्यै पनि भारतले नेपाललाई व्यापारिक दृष्टिकोणले हेरेको छैन ।
नेपाल र भारतबीच विशुद्ध भाइचाराको सम्बन्ध छ । यो भाइचाराको सम्बन्धमा चिनियाँ राजदूतबाट अमर्यादित र गैरकुटनीतिक अभिव्यक्ति आउनु घोर निन्दनीय छ । काठमाडौंका नश्लीय सोच भएका केही व्यक्तिले हरेक विषयमा भारतमाथि दोषा लगाउँथे । तर, भारतले आजसम्म नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि बोलेको छैन । तर, चिनियाँ दूतावासबाट अनावश्यक टिप्पणी हुनुले प्रमाणित गर्छ कि यहाँ राजदूतावास नभएर चीनले नेपालमा राजनीतिक पार्टी खोलेको छ र त्यो पार्टीको सञ्चालक चिनियाँ राजदूत छन् । यस्ता राजदूतलाई यहाँ एक मिनेट पनि बस्ने नैतिक धरातल छैन । यस्ता राजदूतलाई चिनियाँ सरकार अविलम्ब फिर्ता बोलाउनुपर्छ । यसै पनि राजदूतको अभिव्यक्ति चीन सरकारको आधिकारिक अभिव्यक्ति मान्नुपर्दछ ।
० चिनियाँ राजदूतको अभिव्यक्ति चीन सरकारको आधिकारिक धारणा मान्नुपर्दछ ?
— बिल्कुल । राजदूतबाट कुनै अभिव्यक्ति आउनु भनेको चीनको आधिकारिक धारणा हो । मैले अघि पनि निवेदन गरें कि चिनियाँ राजदूतावास मात्रै होइन, नेपालमा चीनको एउटा राजनीतिक पार्टी रहेको प्रतीत हुन्छ । सार्वभौमसत्ता सम्पन्न नेपालका लागि सहन गर्न सकिँदैन । यो घोर आपत्तिजनक, निन्दनीय विषय हो । नेपालको आन्तरिक मामिलामा चीनको प्रत्यक्ष हस्तक्षेप हो । यो भत्र्सनायोग्य विषय हो । यस्ता राजदूत अविलम्ब फिर्ता जानुपर्छ । यस विषयमा नेपाल सरकारले स्पष्टीकरण लिनुपर्छ ।
० तर चिनियाँ राजदूतको अभिव्यक्तिबारे नेपाल सरकार वा कुनै पनि राजनीतिक दलको आधिकारिक धारणा आएको छैन नि ?
— जब कुनै खास देशको होमवर्क लिएर काम गर्छ भने त्यो देशको विरुद्धमा कुनै धारणा राख्न सक्दैन । यहाँका राज्यसत्ता सञ्चालकका अधिकांश व्यक्ति चीनबाट निर्देशित छन्, जसले सत्य कुरालाई आमनेपाली जनता समक्ष राख्न सकिरहेका छैनन् । जुन चुच्चे नक्सा सार्वजनिक गरेर ठूलो राष्ट्रवादी बनेका थिए यहाँका शासकहरुले, त्यो नक्सालाई विश्व समुदाय अगाडि प्रस्तुत नै गरेका छैनन् । उग्रराष्ट्रवादको तहत भारतविरोधी अभिव्यक्ति दिएर मत प्राप्त गरे, उग्रराष्ट्रवादलाई स्थापित गर्ने काम गरे तर त्यो नक्सालाई विश्वसामु प्रस्तुत नै गरेनन् । अहिले चीनले जुन नक्सा सार्वजनिक गरेको छ, त्यसमा सयौं हेक्टर भूमि हड्पेको छ । हुमला, जुमला, रसुवा लगायतका थुप्रै जिल्लाका भूमि चीनले आफ्नो नक्सामा समावेश गरेको छ । तर, यस्तो कुनै प्रमाण छैन कि भारतले नेपालको एक इन्च पनि भूमि मिचेको छ । तर चीनले नेपालको भूमि प्रत्यक्ष मिचेको देखाएको छ । यसअघि पनि रुई गाउँपालिकादेखि सगरमाथाको उत्तरी भाग चीनले कब्जा नै गरिसकेको छ ।
भारतको डर यदि चीनलाई नभएको भए नेपाललाई खाइसकेको हुन्थ्यो । यहाँका अधिकांश नेतागण चीनको गुलामी गरिरहेका छन् । यी गुलाम नेताहरुबाट नेपालको सार्वभौमिकताको रक्षा हुन सक्दैन । त्यसैले हामी जोडतोडका साथ चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्छौं । नेपाल–भारतबीचको विशिष्ट सम्बन्धमा खलल पु¥याउने चीनको कुनै अधिकार छैन । भारत आज बसुधैव कुटुम्बकमको मार्गचित्रमा अगाडि बढ्दै विश्व एक परिवार, एक भिविष्य अपनाइसकेको छ । यदि नेपाललाई भारतको साथ र सहयोग नभएको नेपाल आज पनि १२–१४ घण्टाको लोडसेडिङ्गको शिकार हुनुपर्दथ्यो । नेपाललाई सवल, सक्षम र विकसित बनाउन भारत सरकार सधैं चिन्तित रहँदै आएको छ । हाम्रो हितैषी को हुन् भन्ने ज्ञान नेपाली जनतालाई राम्ररी छ ।
० चिनियाँ राजदूतको अभिव्यक्तिबारे सरकारले स्पष्टीकरण सोध्छ त ?
— सोध्नुपर्ने हो । यदि चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्दैन भने यो सरकार असक्षम छ ।
० प्रधानमन्त्रीको चीन भ्रमणको तयारी पनि हुँदैछ, यो भ्रमण कस्तो रहला ?
— भ्रमण हुनु त स्वाभाविक हो । यसअघि पनि प्रधानमन्त्रीले मित्रराष्ट्र भारतको भ्रमण गर्नुभएको थियो । सो भ्रमण एकदमै सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो । सो भ्रमणले हाम्रो परम्परागत सम्बन्धलाई अझ मजबुत बनायो । प्रधानमन्त्रीले चीन पनि जानुपर्छ । तर, चीन जानुअघि प्रधानमन्त्री राजदूतसँग स्पष्टीकरण सोधेर जानुपर्ने हो । चिनियाँ राजदूतावास जो आज नेपालमा एउटा पार्टीको जस्तो काम गरिरहेको छ, त्यसको पछिल्लो अभिव्यक्तिले प्रमाणति गरेको छ । सरकारले स्पष्टीकरण सोध्नुपर्छ कि दुई राष्ट्रको बीचको सम्बन्धमा किन हस्तक्षेप गरिरहेको छ ।
० जब भारतले सांस्कृतिक नक्सा संसद भवनमा राख्दा यहाँ केहीले विरोध गरेका थिए, तर चीनले नेपालका भूमिहरु आफ्ना नक्सामा राख्दा विरोध भएको देखिँदैन त ?
— भारतमा सम्राट अशोककालीन सांस्कृतिक नक्सा भारतको संसद भवनको ग्यालेरीमा सज्जाइएको थियो । त्यसको चर्चा केही उग्रराष्ट्रवादीहरुले नेपालका सडकमा गरेका थिए । तिनीहरुको भोटबैंकको आधार पनि त्यहीं हुन्छ । त्यो विषय समाप्त भइसक्यो, किनकि त्यो सांस्कृतिक नक्सा थियो । त्यो नक्सालाई कसैले नकार्न सक्दैन । त्यो नक्सा अखण्ड भारतको नक्सा हो, त्यो नक्सा अखण्ड समयसम्म रहन्छ । त्यो कसैले बनाएको आजको नक्सा होइन । जहाँसम्म कुरो छ कि चीनले भूमि मिच्दा राजधानीमा कुनै विरोध भएन, यसमा खास कुरो के हो भने नेपालको राजधानी प्रो–चाइनिजबाट भरिएको हो । नेपालको भूमि अतिक्रमित भएको छ र चीनले आफ्नो नक्सामा समावेश गरेको छ । नेपालको भूमि चीनले मिच्दा पनि काठमाडौंको सडकमा विरोध नहुनु दुर्भाग्य हो । काठमाडौंको भूमिको अधिकांश भू–भाग चिनियाँ दानापानीबाट सिंचित छ । होइन भने हाम्रो भूमि दुनियाँका कुनै देशले अतिक्रमण गर्दा हामी किन नबोल्ने ? जसले अतिक्रमण गर्दैन, उसको विरोधमा उग्रराष्ट्रवाद देखाउनका लागि अगाडि आउँछन् । तर जसले स्पष्टरुपमा नेपालको भूमि अतिक्रमण गर्छ र नक्सामा पनि समावेश गर्छ, त्यसको विरोधमा यहाँका नश्लीय चिन्तन भएका व्यक्तिहरु बोल्दैनन् । त्यसैले नेपालको राजधानी परिवर्तन गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया