० तपाइँ लोसपा, जसपा छोडेर जनमत पार्टीमा किन प्रवेश गर्नुभयो ?
— मैले आफ्नो राजनीतिक यात्राको सुरुवात महन्थ ठाकुरको तमलोपाबाट गरें । मैले राजनीतिक यात्राको सुरुवातदेखि नै धेरै मिहिनेत गरें । चुनावमा पनि राम्रै मत ल्याएँ, त्यसपछि किसान आन्दोलनको नेतृत्व पनि गरें । प्रत्यक्षरुपमा किसानलाई त्यसको लाभ पनि भयो । अहिलेसम्म ठगिँदै आएका उखु किसान अबदेखि ठगिने छैन भनेर कानूनीरुपमा चुस्त–दुरुस्त व्यवस्था मिलाइयो । पछिल्लो चुनावका बेला लोसपाले मेरो निर्वाचन क्षेत्र नै छोडिदियो । जसले २८ हजार मत ल्याएको छ, किसान आन्दोलन गरेको छ, दिनरात क्षेत्रमा खटेर संगठन बनाएको छ । मेरो मात्रै एउटा क्षेत्र यस्तो थियो जहाँ लोसपाको सबै वाडमा कमिटी पनि थियो, क्षेत्रीय अधिवेशन पनि भएको थियो । तर केही उद्योगपतिसँगको मिलेमतोमा सिट नै छोडिदियो । त्यसपछि मैले जसपाबाट टिकट लिएर चुनाव लडें । जसपाको पनि संरचना मधेशप्रति समर्पित नभएकोले म जनमत पार्टीमा प्रवेश गरें । मैले जनमतमा प्रवेश गर्दा नेतृत्व मात्रै परिवर्तन गरें, मुद्दा त मेरो त्यहीं हो । मेरो मुद्दा परिवर्तन भएको छैन, कमिटमेन्ट परिवर्तन भएको छैन । मेरो मूल मुद्दा भनेको समृद्ध किसान, समृद्ध मधेश अनि समृद्ध नेपाल हुन्छ । जबसम्म किसान समृद्ध हुँदैन तबसम्म मधेश समृद्ध हुँदैन । जनमत पार्टीले पहिला नै किसान आन्दोलन गरेकोले मेरो मुद्दा र जनमतको मुद्दा मिलेको छ ।
० जनमत पार्टी भर्खर गठन भएको छ, एउटा मात्रै सिट प्रत्यक्षमा जित्न सक्यो । जनमतको भविष्य छ ?
— मुख्य कुरा हुन्छ नेतृत्व । संगठनको नेतृत्व कस्तो छ ? डा.सीके राउतको नेतृत्व बहुत दूरदर्शी नेतृत्व छ । सीके राउतले मधेशको माटो, मधेशको भूमि र मधेशीप्रतिको समर्पण भाव लिएर जसरी आउनुभएको छ, त्यसबाट प्रेरित भएर उहाँको नेतृत्वलाई स्वीकार गरी काम गर्न आएको हुँ । उहाँले जुन स्वराजको मिशन लिएर हिंड्नुभएको छ, त्यसले मात्रै मधेशको कल्याण सम्भव छ भन्ने कुरा जनताले बुझ्दैछन् । उहाँप्रति आकर्षण बढ्दै गइरहेको छ । स्वतन्त्र मधेश गठबन्धन जब जनमत पार्टीमा परिणत भयो त्यसपछि उहाँसँग जोडिन धेरै मानिसहरु आइरहेका छन् । आफ्नो सम्पूर्ण सुखसुविधा छोडेर जसरी समर्पण भावका साथ आउनुभएको छ, मधेशको समग्र विकास, समुन्नति, सुशासन ल्याउने क्षमता छ । उहाँको क्षमताप्रति आकर्षण भएर म लगायत धेरै युवा नेताहरु डा.सीके राउतको नेतृत्वमा काम गर्न तयार छन् । धेरै जना विधिवत् पार्टी प्रवेश गरेर नै आइसके, धेरै अहिले आउने क्रममा छन् । आगामी दिनमा जनमत पार्टी मधेश मात्रै नभई देशकै सबभन्दा शक्तिशाली पार्टीको रुपमा आउनेछ ।
० डा.सीके राउतले त अहिलेसम्म सपना मात्रै बाँड्दै आउनुभएको छ नि ?
— उहाँले जुन सपना देखाउनुभएको छ, त्यो सम्भव छ । उहाँ दश लाख युवालाई रोजगारीको कुरा गर्नुभएको छ । त्यसका लागि उहाँ शक्तिमा आउनुपर्छ । रोजगारी र समृद्धिका लागि पर्याप्त आधारहरु छन् । १६५ निर्वाचन क्षेत्रमा जम्मा एउटामा मात्र जनताले जिताएर पठाए र समानुपातिकमा ५ गरी जम्मा ६ सांसद केन्द्रमा छन् । संसद चल्ने भनेको गणितको हिसावले हो । संसदमा ६ जना मात्रै प्रतिनिधित्व भएको कारणले डा.सीके राउतको राम्रा कुराहरुलाई ओझेलमा पारिदिएको छ । मधेश प्रदेशको ३२ प्रत्यक्ष र समानुपातिकको ८० प्रतिशत मत दिएर पठायो भने डा.सीके राउत देशको प्रधानमन्त्री बन्नुहुन्छ । जब उहाँ प्रधानमन्त्री भइसकेपछि कसैले पनि रोक्न सक्दैन । संसदको गािण्त आफ्नो हातमा भइसकेपछि उहाँले देखाएको बाटो अनुरुप रोजगारी सिर्जना हुन्छ, मधेश समृद्ध हुन्छ, मधेशमा कलकारखाना खुल्छ । तर, संसदमा गणितीय संख्या बहुमत दिएर जनताले पठाउनुप¥यो । त्यसैले हामी मिशन ८४ मा हामीले भनेका छौं कि डा.सीके राउत जस्तो ज्ञान भएको नेतृत्वमा आउने उम्मेद्वारहरुलाई मत दिऔं र संसदमा शक्ति बढाऔं । शक्ति बढिसकेपछि उहाँले भन्नुभएको कुराहरु शतप्रतिशत पूरा हुन्छ । मधेशमा हैसियतदार उम्मेद्वार भनेको पैसावाला हो, जसले दारु–मांस बाँड्न सक्छन् । त्यस्तालाई मत नदिनुस् । गत चुनावमा जनमत पार्टीलाई जनताले राष्ट्रिय पार्टी बनाए । भनेपछि एक स्टेप जनताले विश्वास गरे । अब ८४ मा अर्को स्टेप विश्वास गरेर पाँच गुणा संख्या बढाएर हामीले पठायौं भने निश्चितरुपमा डा.सीके राउत यो देशको प्रधानमन्त्री बन्नुहुन्छ । म विश्वास दिलाउन चाहन्छु कि उहाँ २०८४ मा प्रधानमन्त्री बन्नुहुन्छ, यसमा कहीं दुईमत छैन ।
० अहिले संघीयता र गणतन्त्र विरोधीहरु सल्बलाइरहेका छन्, राजसंस्था फर्काउनेहरु आन्दोलनको तयारीमा छन् । यसलाई जनमत पार्टीले कसरी हेरिरहेको छ ?
— कांग्रेस, एमाले र माओवादीको अकर्मण्यताका कारण संघीयता र गणतन्त्र विरोधीहरु सल्बलाइरहेका छन् । उनीहरु सत्तामा आएर जुन हिसावले क्रियाकलाप गरे, त्यसबाट दुःखित भएका मान्छेहरु विकल्पको रुपमा यो व्यवस्था ठिक छैन भनेर भनिरहेका छन् । तर, लोकतन्त्र, गणतन्त्र र संघीयताको विकल्प राजसंस्था होइन । लोकतन्त्रको विकल्प भनेको अझै समृद्ध, सुदृद्ध लोकतन्त्र हो । लोकतन्त्र नै यस्तो व्यवस्था हो जहाँ सामान्य परिवारका मान्छे राष्ट्रपति, प्रधानमन्त्री बन्न पाउँछन् । त्यसकारणले लोकतन्त्र नै उत्तम व्यवस्था हो । कांग्रेस, एमाले र माओवादीले गरेको गल्तीका कारणले केही मान्छेहरु दुःखित भएका छन् ।
० तपाइँले उखु किसान आन्दोलनको नेतृत्व गर्नुभएको थियो, जसबाट वर्षौंदेखि भुक्तानी नपाएका किसानहरुले केही हदसम्म भुक्तानी पाए । अहिले उखु किसानको अवस्था कस्तो छ ?
— अझ पनि उखु किसानको बक्यौता भुक्तानी भएको छैन । झन मलाई चुनावमा हराएर यसपालिको भुक्तानी नै दिएनन् । किनभने उनीहरुलाई थाहा थियो कि राकेश मिश्रले चुनाव जितेपछि नेपाल सरकारसँग भएको सम्झौताअनुसार भुक्तानी दिलाएरै छाड्छन् । मैले जितेको भए सरकारले गरेको सम्झौता कार्यान्वयन हुन्थ्यो । त्यसकारणले पैसाको खोलो बगाएर एउटा नेतालाई २०–२० लाखमा किनेको थियो । त्यो पैसा चिनी मिल मालिकहरुले दिएका थिए । नभए मेरो प्रतिस्पर्धामा कोही पनि थिएन । अहिले करोडौं रुपैयाँ खर्च गरेर उनीहरुले मलाई हराए, अहिले ५० करोड कमाउँदैछन् । त्यासैले, सबै किसानहरुको पैसा रोकिराखेका छन् । दिपावली र छठ जस्तो महान पर्वमा पनि किसानले सरकारी अनुदानको रकम नै पाएनन् ।
० त्यो क्षेत्रबाट जित्नुभएको स्वतन्त्र सांसद डा.अमरेश सिंहले उखु किसानको समस्या कतिको उठाउनुभएको छ ?
— उहाँलाई किसानसँग कुनै मतलबै छैन । उहाँ माल लगाओ, माल पाओवाला नेता हो । सबै उद्योगपतिबाट उहाँ लिनुभो, बाँड्नुभो, जातीय नारा लगाउनुभो र जित्नुभो । उहाँलाई जनतासँग कुनै मतलबै छैन । उहाँले प्रचण्डलाई प्रधानमन्त्री बनाउने म नै हो भनेर फोटो सार्वजनिक गर्नुभएको थियो । तर जब उहाँले मन्त्री पद पाउनुभएन अनि क्रान्तिकारी र राष्ट्रवादी हुनुभो । उहाँ आफै चप्पल लगाएर हिंड्नुहुन्थ्यो, कहाँबाट स्कारपियो चढ्दै हुनुहुन्छ ? त्यसकारणले जनताले सबै कुरा बुझ्छन् । पहिले एउटा शक्तिसँग जोडिएर माल कमाउनुभयो, अहिले त्यहीं शक्तिलाई विरोध गरेर विरोधी शक्तिसँग माल पाइरहनुभएको छ ।
० अहिले डा.अमरेश सिंहले त देशका ठूलठूला भ्रष्टाचारका काण्डहरुका विरुद्धमा लाग्नुभएको छ नि ?
— उहाँ त यसअघि पनि जित्दै आउनुभएको छ । त्यतिबेला किन भ्रष्टाचारका काण्डहरु देख्नुभएन त ? उहाँले मन्त्री नपाएपछि विरोधमा उत्रिनुभएको छ । यदि उहाँलाई मन्त्री पद दिइएको भए त्यो पनि भ्रष्टाचारका काण्ड देख्नुहुन्थेन । उहाँ आफै नै भ्रष्टाचारी हो । यदि उहाँ भ्रष्टाचारी नभएको भए चप्पल लगाएर हिंड्ने मान्छे आज कसरी करोडौंको गाडी चढ्दै हुनुहुन्छ ।
० उहाँमाथि भ्रष्टाचारको मुद्दा लाग्दा उहाँले भन्नुभएको छ कि अहिलेसम्म कुनै पनि लाभको पदमा गएको छैन अनि कसरी भ्रष्टाचार गरे ?
— अहिले उहाँ संसदमा बोल्नकै लागि पैसा पाइरहनुभएको छ भने लाभको पदमै किन बस्नुप¥यो । भ्रष्टाचार गर्ने तरिका त अनेक छन् नि । सांसदीय कोषको रकम पनि उहाँले दुरुपयोग गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया