एमालेमय बन्दैछ मधेश प्रदेश

अन्तर्वार्ता

लक्ष्मी तिमिल्सिना, केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज, अनेरास्ववियु

० मधेशको शैक्षिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

— मधेशको शैक्षिक अवस्था एकदम खस्किँदो अवस्थामा छ । सबभन्दा मुख्य कुरो नेपालकै शैक्षिक पद्धति यहाँको माटो सुहाउँदो भएन । अर्को कुरा शिक्षा क्षेत्रमा सरकारले जुन हिसावले लगानी गर्छ, त्यो अनुसारको प्रतिफल आउन सकिरहेको छैन । गुणस्तरीय पढाइ पनि छैन । विद्यार्थीहरुले आफूले पढेको कुरालाई व्यवहार उतार्न सकिरहेको छैन । जसले गर्दा विद्यार्थीहरु +२ गरेर विदेश पलायन भइरहेका छन् । कोही उच्च शिक्षा हासिल गर्नका लागि विदेश जान्छन् भने कोही जागिरका लागि । देशको अवस्थाले विद्यार्थीहरुको मनस्थितिलाई यस्तो बनाइसक्यो कि पहिलो प्राथमिकता विदेश नै हो । मधेशको शैक्षिक अवस्था खस्किँदै जानुको एउटा कारण हाम्रा अभिभावक पनि हो । सरकारले शिक्षामा धेरै लगानी गरेको छ, तर निगरानी भएको छैन ।

० तपाइँहरु विद्यार्थीको लागि राजनीति गर्दै हुनुहुन्छ, सुधारका लागि के गरिरहनुभएको छ ?

— हामीले शैक्षिकस्तर सुधारका लागि सरकारलाई घच्घचाइरहेका छौं । हामीले स्थानीय सरकारसँग १०% छात्रवृत्तिका लागि माग गरेका छौं । हामीले खाजादेखि लिएर गुणस्तरीय शिक्षा, विद्यालयमा चाहिने आवश्यक सामग्रीहरुको उचित प्रवन्धका लागि स्थानीय सरकारलाई ज्ञापनपत्र नै बुझाएका छौं । शिक्षामा सुधारका लागि हामीले धेरै प्रयत्न गरेका छौं र गरिरहेका छौं ।

० मधेश प्रदेशका छोरीहरुलाई शिक्षामा आकर्षण बढाउनका लागि मधेश प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम सञ्चालन गरिरहेको छ, कतिको प्रभावकारिता छ त ?

— बेटी बचाउ बेटी पढाउ एउटा लोकप्रिय नारा हो, तर व्यवहारतः लागू भएको छैन । प्रदेश सरकारले जुन उद्देश्यले ल्याए पनि सुन्दा एकदमै राम्रो लाग्ने तर त्यो कार्यान्वयन भएको छैन । प्रदेश सरकारले लोकप्रियताका लागि मात्रै यो नारा ल्याएको देखिन्छ । बेटी बचाउ बेटी पढाउ भन्ने तर मधेशमा दिनहुँ बेटीहरु दाइजोको निहुँमा मरिरहेका छन् । दाइजोको निहुँमा आरती साहको हत्या भयो, छ महिनाभन्दा बढी समय भइसक्यो उहाँको परिवार न्याय मागिरहेका छन् । तर, प्रदेश सरकारको कुनै चाँसो छैन । तसर्थ, मधेशमा बेटीहरु सुरक्षित छैन, तर सरकारले लोकप्रियताका लागि यस्ता नाराहरु ल्याइरहेको हुन्छ । मधेश प्रदेश सरकारले बेटीको नाउँ झन् भ्रष्टाचार गरेकोा छ । यसअघिका मुख्यमन्त्री लालबाबु राउतको सरकारले यो लोकप्रिय नारा ल्याएको थियो । बेटीलाई साइकल बाँड्ने नाउँमा करोडौंको भ्रष्टाचार गरेको मुद्दा अहिले पनि विशेष अदालतमा छ । यो नाराले त झन् मधेशका बेटीहरु लज्जित हुन पुगेका छन् । बेटीको नाउँमा भ्रष्टाचार गर्ने सरकारले बेटी बचाउँछ र पढाउँछ भनेर कसरी विश्वास गर्ने ।

० नेकपा एमालेलाई मधेश विरोधी पार्टी भनिन्थ्यो, तर पछिल्लो चुनावमा मधेश प्रदेशमा एमाले सबभन्दा ठूलो दल बन्यो, कसरी सम्भव भयो त ?

— नेकपा एमालेको नेतृत्व र नीति जनता र देशकेन्द्रित रहेको छ । हाम्रो पार्टी एमालेले आश्वासनभन्दा पनि जनताको जीवनस्तर कसरी उकास्ने, देश समृद्ध कसरी बनाउने भन्ने एजेण्डा बोकेको छ । विगतमा केही क्षेत्रीयतावादी दलहरुले आफ्नो राजनीतिक रोटी सेक्नका लागि जनतामा एमालेप्रति एक किसिमको भ्रम फैलाए । तर जब हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री बन्नुभयो, त्यसपछि उहाँको भिजन र काम गराइले ती सबै भ्रमहरु हट्दै गयो । अन्य दलहरुले मधेशका जनतालाई सपना बाँड्छन् तर एमालेले जीवनस्तर उकास्ने योजनाहरु ल्यायो । एमाले सरकारको पालामा मधेशमा भएका असंख्य राम्रा कामहरु हेरेर मधेश प्रदेशका जनताले एमालेले ठुलो दल बनायो । समग्र देशमै एमालेले सबभन्दा बढी लोकप्रिय मत पाएको छ । एमालेविरुद्ध चौतर्फी घेराबन्दीका बाबजुद पनि जनताले सबभन्दा बढी मत दियो । तर सरकार बनाउन सकेन । यदि अहिले एमाले नेतृत्वको सरकार भएको भए नेपालको यस्तो दयनीय अवस्था हुन्थेन । अन्य दलले जनतासँग राजनीति गर्छन् भने एमालेले जनताका लागि राजनीति गर्छ । अहिले मधेश प्रदेशमा एदकमै लोकप्रिय बन्दै गइरहेको छ एमाले । एमालेमय बन्दैछ मधेश प्रदेश ।

० तपाइँ बारा जिल्लाको हुनुहुन्छ, २०८४ को चुनावमा एमालेको अवस्था कस्तो हुनेछ ?

— नेकपा एमाले देश र जनताप्रति समर्पित पार्टी हो । हाम्रा श्रद्धेय अध्यक्ष केपी ओलीले आफ्नो प्रधानमन्त्रीत्व कालमा गर्नुभएका कामहरु देखेर झन् लोकप्रिय बन्दै गइरहेको छ । हामीले मिशन ग्रासरुट पनि सञ्चालन ग¥यौं । मधेशका जनताको मनमा एमाले नै रहेको हामीले पायौं । तसर्थ, आगामी चुनावमा निश्चितरुपमा मधेशमा दुई तिहाइ बहुमतका साथ विजयी हुनेछ र एमालेको एकल नेतृत्वको सरकार निर्माण बन्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ