‘नैतिकता अझै बाँकी छ भने जनकपुरका मेयरले राजीनामा दिनुपर्छ’

जानकी राम साह, वडाध्यक्ष, जनकपुरधाम उपमहानगरपालिका–७, धनुषा

स्थानीय सम्वाद्

० तपाइँहरू आफ्नो मेयरका विरूद्धमा किन आन्दोलित हुनुभएको छ ?

— जनकपुरधाम प्रदेश २ को राजधानी हो । जनकपुरधाम उपमहानगरपालिकाले अहिलेसम्म एउटा पनि ठोस र राम्रो काम गर्न सकेको छैन । हामी निर्वाचनताका नै जनकपुरधाममा सरसफाइको मुद्दालाई प्राथमिकता दिएका थियौं । ऐतिहासिक धार्मिकस्थलहरू जनकपुरधाममा भएकोले हामी सुरूदेखि नै सरसफाइको मुद्दा उठाउँदै आएका थियौं । अहिलेसम्म सरसफाइको नाममा अर्बौं रूपैयाँ खर्च भएको छ तर दुर्गन्धित अवस्थामै छ । अतिथि गृह, ऐतिहासिक तिरहुतिया गाछी र बाह्रबिघालाई डम्पिङ्ग साइट बनाइएको छ । यत्रो चाडपर्वहरू भयो अहिले अब विवाहपञ्चमी आउँदैछ तर सरसफाइमा केही काम भएको छैन । जहाँ हेर्दा फोहोरको थुप्रो लागेको हुन्छ । त्यसकारणले हामी आन्दोलन बाध्य भयौं । डम्पिङ्ग साइट निर्माणका लागि ४८ करोड, जेसिबी खरिदका लागि आएको ३ करोड रूपैयाँ मेयर लालकिशोर साहका कारण फ्रिज भयो । अहिले जनकपुरधामको दयनीय अवस्था छ । 

० तपाइँहरूले नै मेयरलाई सहयोग गर्नुभएन भन्ने आरोप छ नि ?

— हामीले कहाँ के काम गर्न रोक्यौं त्यो त भन्नुप¥यो । जनकपुरधामका एउटा बच्चालाई पनि गएर सोध्नुस् कि नगरपालिकाले कस्तो काम गरेको छ । जनकपुरधामको इतिहासमै अहिलेसम्म यति फोहोर र दुर्गन्धित थिएन । हामीले मेयरलाई काम गर्न कहाँ असहयोग गरेका छौं देखाउनुप¥यो नि । अर्बौअर्ब रूपैयाँ बजेट फ्रिज भएको छ, त्यो कसले गराइदियो ? वडाध्यक्षहरूले बजेट फ्रिज गराइदियो त ? हामीलाई ५०/५५ लाख रूपैयाँभन्दा बढी बजेट नै दिनुभएको छैन ।

० अहिले चुनाव नजिकिँदै गर्दा मेयरका विरूद्धमा लाग्नुभएको छ नि ?

— हामीले अहिले आएर मेयरको विरोध गर्न थालेका होइनौं । हामी तीन वर्षदेखि आवाज उठाउँदै आएका छौं । जतिबेला हामी एउटै पार्टीमा थियौं त्यो बेला पनि सरसफाइ र जनताले अनुभूति गर्ने खालका कामका लागि आवाज उठाएका थियौं । योभन्दा अगाडि पनि उहाँले जबरजस्ती नगरसभा गर्नुभएको थियो । त्यसको विरूद्धमा हामीले सर्वोच्च अदालतमा मुद्दा हालेका छौं । चुनाव नजिकिँदैछ, त्यसैले हामीले अहिले विरोध गर्न थालेका होइनौं । जनकपुरधामका निजी अस्पताल, क्लिनिक, होटेलका फोहोरहरू उठ्छन् तर सडक तथा सर्वसाधारणको घरका फोहोर उठ्दैन । किनकि उहाँलाई लाखौंलाख रूपैयाँ कमिशन लिँदै हुनुहुन्छ ।

० सरसफाइ कर्मीचारीमाथि वडाअध्यक्ष र वडा सदस्यले दुव्र्यवहार गरेकोले कर्मचारीहरू आन्दोलित भई फोहोर नउठेको हो नि ?

— कर्मचारीहरू आन्दोलित भएका होइनन्, मेयरले आन्दोलन गराएका हुन् । हामीसँग कर्मचारीको कुनै वादविवाद थिएन । हामी कुनै सामग्री माग गर्न जाँदा मेयरले जे आदेश दिन्छ त्यहीं गर्छन् कर्मचारीहरू । बहुमतको आडमा मेयरले नौटंकी गरिरहनुभएको छ । मेयरले कर्मचारीहरूलाई दबाब दिएर आन्दोलन गर्न लगाउनुभएको छ । किनकि करारमा कर्मचारीहरू भर्ना गरिएको छ । त्यसैले डरले कर्मचारीहरू मेयरले जे भन्नुहुन्छ, त्यहीं गर्नुहुन्छ । नगरसभा भएको ६ महिना भइसक्यो तर अहिलेसम्म मेयरले बोर्ड बैठक राख्न सक्नुभएको छैन । 

० जनकपुरधामका २५ वटा वडामध्ये चार/पाँचभन्दा बढी वडाध्यक्षहरू मेयरका विरूद्ध आन्दोलित भएको देखिँदैन नि ?

— हामी चार/पाँच जना मात्रै आन्दोलित भएका छैनौं, अन्य धेरै वडाअध्यक्षहरू पनि छन् । सबै जना काठमाडौं आउन नसकेको मात्रै हो । 

० नगरपालिका र मेयरलाई बदनाम गराउनका केही वडाध्यक्षहरू विरोध गरिरहेका छन्, बहुमत उहाँसँग छ भन्ने दाबी छ त ?

— हामीले त्यतिकै विरोध गरेका छैनौं नि । जनकपुरधामको अवस्था गएर हेर्नुस्, मेयरले के कस्ता काम गरेका छन् । जनकपुरधाममा विकास नगर्नुस्, फोहोर नउठाउनुस् भनेर हामीले भनेका होइनौं नि । उहाँले आफूसँग बहुमत छ भनेर जुन दाबी गर्नुभएको छ, त्यसको पनि कारणहरू छन् । उहाँले कसैको छोरा, बुहारी, भतिजालाई जागिर दिनुभएको छ । त्यसको आधारमा अन्य वडाध्यक्षहरूले विरोध गर्न सकिरहेका छैनन् । उहाँसँग बहुमत छ भने अहिलेसम्म बोर्ड बैठक किन राख्न सक्नुभएको छैन ? महिनामा कमसेकम एउटा बोर्ड बैठक राख्नुपर्ने हाम्रो ऐनमै छ । बहुमत छ भने बोर्ड बैठक राख्न किन डराउनुभएको छ ?

० मेयरसँग तपाइँहरूको असन्तुष्टि केमा छ ?

— हाम्रा थुप्रै मुद्दाहरू छन्, तर सरसफाइ मुख्य हो । हामीले नगरभित्र शिक्षा, स्वास्थ्य, सुशासन, मदिरारहित हुनुपर्छ भन्दै आएका छौं । जनकपुरधाम उपमहानगरपालिका ऐतिहासिक ठाउँ हो तर एउटा पनि उदाहरणीय काम भएको छैन । यदि उहाँले कुनै ठोस काम गर्नुभएको छ भने देखाइदिनुस् । 

० मेयरको राजीनामा माग्दै काठमाडौं किन आउनुभयो ?

— हामीले जनकपुरधाम उपमहानगरपालिकामै आन्दोलन गर्दागर्दै कुनै सुनुवाई नभएपछि हामी संघीय राजधानी काठमाडौं आउन बाध्य भयौं । हाम्रो मुख्य केन्द्र त यही हो । हामीले यत्रो दिनसम्म मेयरलाई गुहार लगायौं, प्रदेश सरकारलाई आग्रह ग¥यौं तर कुनै सुनवाई भएन । जनकपुरधाम नगरपालिकावासीले भोगिरहेको समस्या संघीय सरकारलाई अवगत गराउन काठमाडौं आएका हौं । 

० काठमाडौंमा आएर मेयरको राजीनामा माग्दैमा उहाँले दिनुहुन्छ त ?

— हामीले राजीनामा माग्नुभन्दा पनि नैतिकताको आधारमा आफैले राजीनामा दिनुपर्ने थियो । नैतिक अझ पनि बाँकी छ भने उहाँले राजीनामा दिनुपर्छ । नगरपालिकामा भ्रष्टाचारका फाइलको चाङ्ग नै छ, अख्तियारले लगेको छ । सरसफाइमा अर्बौं रूपैयाँ खर्च भएको छ, तर सरसफाइ भएको छैन । 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ