० देवानगन्ज गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको एक वर्षभन्दा बढी समय भयो, के–के गर्नुभयो ?
— म निर्वाचित भएर आएदेखि नै मैले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको छु । देवागन्जमा हामी सुविधा सम्पन्न १० बेडको अस्पताल बनाउँदैछौं । यही वर्षको अन्त्यसम्म सो अस्पताल सञ्चालनमा ल्याउने हाम्रो उद्देश्य रहेको छ । स्वास्थ्य क्षेत्रमा यो पालिका एकदमै पछाडि परेको छ । आगामी दिनमा देवानगन्जमा जनताले साधारण स्वास्थ्य जाँचका लागि बाहिर जानु पर्दैन । यस्तै, हाम्रो पालिका भनेको कृषिमा आधारित हो । आगामी चार वर्षामा हामीले देवानगन्जलाई देशकै कृषिउपज पालिकाको रुपमा बनाउँछौं । चालु आर्थिक वर्षमा हामीले कृषिमा विकासका लागि २३ करोड बजेट ल्याएका छौं । सिंचाइका लागि विद्युतीकरण गर्दैछौं । देवानगन्जलाई हामी कृषिमा आत्मनिर्भर बनाउन लागेका छौं । हामी मोटर बोरिङ्ग योजना पनि ल्याउँदैछौं ।
० देवानगन्जलाई कृषिमा कसरी आत्मनिर्भर बनाउनु हुन्छ ?
— देवागन्जलाई कृषिमा आत्मनिर्भर मात्र नभई देशकै नमुना पालिका बनाउने थुप्रै आधारहरु छन् । यहाँ जनजीवन कृषिमा नै आधारित छन् । यहाँ वर्षमा चार पाँच किसिमका खेती गरिन्छ । आलु, मकै, धान, गहुँ लगायतका खाद्यान्नहरु उब्जनी हुने गरेका छन् । तर यसमा उचित लगानी नभएकोले अहिलेसम्म ओझेलमा परेको थियो । म निर्वाचित भएर आइसकेपछि सबभन्दा बढी प्राथमिकता हामीले कृषिलाई नै दिएका छौं । कृषि पेसालाई एउटा आम्दानीको माध्यम बनाउन सकिन्छ । यसका लागि हामी विभिन्न योजनाहरु बनाउँदैछौं । सबभन्दा ठूलो समस्या थियो सिंचाइको । आकाशे पानीको भरमा यहाँका कृषकले खेती गर्ने गरेका थिए । त्यसका लागि पनि हामीले विद्युतीकरणको माध्यमले सिंचाइको व्यवस्था गर्दैछौं । अब यहाँका किसान आकाशे पानीको भर पर्नु पर्दैन । ‘खुशी किसान, देवानगन्जको पहिचान’ हाम्रो नारा नै हो । त्यसैअनुरुप हामी काम गरिरहेका छौं ।
० किसान उब्जाएका खाद्यवस्तुहरु बजारीकरण नपाउँदा लागत पनि उठ्न सकेको हुँदैन । कृषि उपज वस्तुको बजारीकरणका लागि योजना के छ ?
— वास्तवमा तराई–मधेशका कृषकले उब्जाएका खाद्यवस्तुहरुको उचित मूल्य नपाउँदा वा बजारीकरण गर्न नसक्दा लागत पनि उठ्न सकिरहेको छैन । त्यसका लागि हामी व्यवस्था मिलाउँदैछौं । कृषि उपज वस्तुको बजारीकरणका लागि हामी प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने योजना बनाइरहेका छन् । देवानगन्ज गाउँपालिकामा एउटा कृषि बजार पनि छ । देवानगन्जमा उत्पादन भएका कृषिजन्य वस्तुहरुको उचित बजारीकरणका लागि हामी पहल गरिरहेका छौं ।
० चालु आर्थिक वर्षको बजेटमा नयाँ के–के ल्याउनुभएको छ ?
— चालु आर्थिक वर्षको बजेटमा हामीले कृषिमा सिंचाइका लागि विद्युतीकरणमा १३ करोडको छुट्याएका छौं । विद्युतीकरणका लागि अलि–अलि पैसा छुट्याएर हुँदैन । विद्युतीकरणका लागि महँगो सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यो वर्षदेखि नै हामी विद्युतीय बोरिङ्ग पनि सुरु गर्न गइरहेका छौं । यस्तै, शिक्षा क्षेत्र पनि एकदमै खस्किँदो अवस्थामा रहेको छ । शिक्षा क्षेत्रको व्यवस्थापनमा पनि हामीले सुधार गरिरहेका छौं ।
० तपाइँको कामबाट देवानगन्जका जनता सन्तुष्ट छन् ?
— यहाँका जनता पूर्णरुपमा सन्तुष्ट छन् । अहिले हामी जसरी विद्युतीकरण, मोटर बोरिङ्गको व्यवस्था मिलाउँदैछौं, स्वास्थ्य क्षेत्रमा अस्पताल बनाउँदैछौं, शिक्षा क्षेत्रका विकृत्तिहरु हटाउँदैछौं । यस्ता कामहरुबाट जनता पूर्णरुपमा सन्तुष्ट रहेका हामी पाएका छौं । जनतालाई काम चाहिएको छ, म काम गरेर देखाउने मान्छे हुँ । म निर्वाचित भएर आएपछि कुनै किसिमको पक्षपात गरेको छैन । पालिकाको सबै ठाउँमा एक समानले विकास निर्माणका कार्यहरु गरिरहेको छु ।
० प्रदेश र संघ सरकारसँग कतिको सहकार्य हुँदैछ ?
— हामी जनताका लागि काम गर्न आएका हौं । जनताका लागि काम गर्न कुनै पनि सरकारले अवरोध गर्दैन । म प्रदेश र संघ सरकारसँग सहकार्य गरेर नै अगाडि बढिरहेको छु । किनभने म आफ्नो व्यक्तिगत कामका लागि प्रदेश वा संघ सरकारसँग आग्रह गर्न गएको छैन । पालिकाकै विकास र समृद्धिका लागि प्रदेश र संघ सरकारका मन्त्रीहरुसँग भेट्न जाने गरेको छु ।
० सिंहदरबार गाउँ–गाउँमा भन्ने कुरा जनताले महसुस गरेका छन् ?
— निश्चितरुपमा हाम्रो पालिकामा सिंहदरबार गाउँमा आएको महसुस गरेका छन् । हाम्रो देशका ७५३ वटै पालिकाका प्रमुखहरु जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने हो भने निश्चितरुपमा देशभरकै जनताले सिंहदरबार गाउँ–गाउँमा महसुस गर्नेछन् । पालिका प्रमुखहरु दायित्व हो कि सिंहदरबार गाउँ–गाउँमा महसुस गराउने । संघीयतालाई संस्थागत गर्न अहिले पनि धेरै काम गर्नुपर्ने आवश्यकता छ । सबै पालिकाका प्रमुखहरुले राम्रोसँग काम गर्नुभयो भने निश्चितरुपमा संघीयता सफल हुन्छ ।
० स्थानीय तहमा व्यापक भ्रष्टाचार हुन्छ भन्ने कुराहरु सुनिन्छ, देवानगन्ज भ्रष्टाचारबाट अछुतो छ ?
— अन्य पालिकाहरुको कुरा त म भन्न सक्दिँन तर मेरो पालिकामा अहिलेसम्म कहीं पनि भ्रष्टाचार वा अनियमितताको कुरा उठेको छैन । किनभने हामीले जति पनि कामहरु गर्छौं, त्यो पूर्णरुपमा पारदर्शी हुन्छ । पालिकामा कुनै पनि नियुक्ति पनि गर्दा खुल्ला प्रतिस्पर्धामार्फत गर्ने गरेका छौं । कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा हामी काम गर्दैनौं । भ्रष्टाचार के हो मैले बुझेकै छैन ।
तपाईको प्रतिक्रिया