काम गर्न सकिएन भने राजीनामा माग्नुस्

स्थानीय सम्वाद्

राजकुमार महतो, अध्यक्ष, चन्द्रनगर गाउँपालिका, सर्लाही (नेपाली कांग्रेस)

० तपाइँ जागिरेबाट राजनीतिमा कसरी “युटर्न” गर्नुभयो त ?

— म विगत २० वर्षसम्म जागिरे सेवामा थिएँ । एनजिओ, आइएजिओ हुँदे युएनडब्ल्युको स्वास्थ्य क्षेत्रमा काम गरें । यस्तै, सरकार, विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजहरूसँग पनि मिलेर म काम गरें । यस्तै, म स्वयंसेवीको हिसाबले पनि विगत १५ वर्षदेखि शनिबार र आइतबारको विदामा समाजमा ओझेलमा परेका जनसमुदायका मुद्दाहरूमा अभियान सञ्चालन गर्र्द आइ रहेको छु । मैले यी सबै कामहरू गरिरहँदा मैले अनुभूति गरें कि जुन ठूलो परिवर्तनको सपना मैले देखेको छु, त्यो पूरा गर्न सिस्टमभन्दा बाहिर बसेर सम्भव छैन । किनभने देश चलाउने भनेको राजनीतिले नै हो । त्यसकारण सिस्टमभित्र प्रवेश गर्न सकियो भने ठूलो परिवर्तन गर्न सकिन्छ भन्ने सोचले नै राजनीतिमा लागेको हुँ । त्यसको सानो उदाहरणको रूपमा हाम्रो समुदायमा सबभन्दा बढी पछाडि परेका मुसहर समुदायको उत्थान गर्न राज्य उदासीन देखियो । हामी आफ्नो अभियानमार्फत् चन्दा उठाएर मुसहर समुदायका झण्डै १५ बालबालिकालाई स्नातकसम्म पढायौं । कुनै पदमा गयौं भने कमसेकम एउटा पालिकाका विपन्न वर्गको समग्र विकास गर्न सकिन्छ भन्ने हेतुले नै राजनीतिमा मेरो ‘युटर्न’ भएको हो ।

० विपन्न वर्गको उत्थान गर्न तपाइँ पालिकास्तरबाट सक्नुहुन्छ ?

— हामीले सरकारी शिक्षालयहरूको पढाई–लेखाई, गुणस्तर र उपलब्धि हेर्दा देशभरिको केही ठाउँबाहेक हामी निराशजनक स्थितिमा छौं । हाम्रो चन्द्रनगर गाउँपालिकाको शिक्षाको अवस्था दयनीय छ । चन्द्रनगरका अभिभावकहरूलाई आफ्ना बच्चालाई सरकारी विद्यालयमै पढाउन लालायित होस्, त्यो वातावरण बनाउने मेरो सपना हो । त्यो सम्भव पनि छ । किनभने म २० वर्ष काम गरेर आएको छु, गफ हाँकेर आएको होइन ।

० तपाइँ पहिला अभियानमार्फत् मधेशका विपन्न समुदायका लागि काम गर्नुहुन्थ्यो, तर अब चन्द्रनगर गाउँपालिकामा मात्रै सीमित हुने देखियो । समग्र विपन्न वर्ग वञ्चित हुने भए नि ?

— भौगोलिक हिसाबले म एउटा पालिकामा सीमित भएँ । यो चन्द्रनगरका अति विपन्नसहित सर्वाङ्गीण विकास र समग्रमा उत्थानका लागि काम गर्ने यो ठूलो अवसर हो । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिको ठूलो सम्भावना बोकेको पालिका हो यो । कृषिका उद्योगहरू स्थापना हुनसक्छ । यहाँ मधेशको सबभन्दा पूरानो प्राकृतिक हिसाबले उब्जेको ठाउँहरू छन् । त्यसो भए कमसेकम एउटा पालिकामा सर्वाङ्गीण विकास गर्न सकिन्छ । जहाँसम्म कुरा छ कि अति विपन्न वर्गको उत्थान, हाम्रो भोर भन्ने संस्था यति अगाडि बढिसकेको छ कि त्यो कामलाई उहाँहरूले निरन्तरता दिनुहुन्छ । त्यसमा मैले गर्न सक्ने सहयोगहरू गर्ने नै छु । हाम्रो त्यो संस्था अनवरतरूपमा आफ्नो काम गरि नै रहन्छ ।

० तपाइँका प्रतिबद्धताहरू के–के छन् ?

— विगत ३०–४० वर्षदेखि यो पालिकामा तानाशाहीतन्त्र थियो, त्यो तोडिएको छ । मेरो पहिलो प्रतिबद्धता भनेको शिक्षामा उच्चस्तरीय र गुणस्तरीय सुधार हो । ताकि गरीबका छोराछोरी पनि गाउँमै बसेर राम्रो शिक्षा प्राप्त गर्न सकोस् । यसैगरी, म आफै पनि स्वास्थ्य क्षेत्रको मान्छे हुँ । त्यसकारण स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवाको व्यवस्था गर्छौं । अर्को कुरा रोजगारीको सिर्जना पनि मेरो लक्ष्य हो । समाजका मान्छेहरू खाडी मुलुकहरूको चर्को घाममा काम गर्न बाध्य छन् । त्यसले गर्दा गाउँमै रोजगारी सिर्जना गर्न सक्यों भने युवालाई रोक्न सकिन्छ । जसका लागि दुईटा ठूला सम्भावनाहरू छन् । एउटा प्राकृतिकरूपमा बनेको नारीमन ताल हो । त्यसलाई प्राकृतिक र अर्गानिक तरिकाले सिंगार्न सकियो भने पर्यटनको ठूलो सम्भावना छ । अर्को कुरा हामीले पहिला पनि एउटा अभियान चलाएका थियौं कि कुलदेवता धाम निर्माण । यो गाउपाँलिकाभित्र विश्वमा कहीं पनि नभएको हरेक जातजाति, धर्म, समुदायहरूको कूलदेवताको प्रतिमासहित मन्दिर बनाउने योजना हो । त्यसबाट पनि पर्यटन क्षेत्रमा ठूलो अवसर हुनसक्छ । पर्यटन बढेपछि त्यसले रोजगारीको पनि सिर्जना हुन्छ । रोजगारीको अर्को ठूलो सम्भावना भनेको कृषि क्षेत्र हो । यहाँ कृषिमा तरकारी उपजदेखि लिएर माछा पालनको पनि सम्भावना थुप्रै छन् । मधेशभरि नै चन्द्रनगर जतिको माछापालन कहीं पनि हुँदैन । कृषिलाई व्यावसायिक र आधुनिक बनाउन सकिन्छ । यसैगरी, हामीले पहिला पनि अभियान चलाएको सोहजनको । हामीले यो गाउँपालिकालाई सोहजन गाउँपालिका बनाउन सक्छौं । सोहजनबाट विभिन्न उपयोगी वस्तुहरू निर्माण हुन्छ । त्यसैले, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन, कृषि र आर्थिक समृद्धि नै मेरा प्रतिबद्धताहरू हुन् । कम समयमा दिगो विकासको जग बसाउनु र परिवर्तन ल्याउनु मेरो लक्ष्य हो ।

० तपाइँले भन्नुभएका प्रतिबद्धताहरू प्रायः सबैजसो नेताहरू भन्छन्, तर कार्यान्वयन शून्य नै हुन्छन् । तपाइँका प्रतिबद्धताहरू पूरा हुनेमा कसरी विश्वास गर्ने ?

— मैले चुनावी प्रचार–प्रसार, घरदैलो वा सभाहरूमा पनि यी प्रतिबद्धताहरू भनेका थिएँ । तपाइँले भन्नुभएको सही कुरा हो । जनता यतिपटक ठगिएका छन् कि कुनै नेतामाथि विश्वास गर्ने आधारै छैन । म पनि घरदैलोमा जाँदा जनताले यही कुरा भन्दै थिए कि अहिलेसम्म त सबै ठग्दै आएका छन्, तपाइँले गर्नुहुन्छ भन्ने त्यसको के आधार छ ? यस्ता प्रश्नहरू बारम्बार आएका थिए । तर मैले गर्ने आधारहरू के–के छन् भने विगत ५÷१० वर्षमा राजकुमार महतोले के–के काम गरेका छन् भन्ने कुरा मूल्यांकन गरेर जनताले विश्वास गर्न सक्छन् । सायद त्यहीं आधार मानेर जनताले मलाई मत दिएर जिताएका हुन् । मलाई जनताले पाँच वर्षको समय दिएका छन्, मैले पहिलो ६ महिनामा आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने छाँटकाँट देखाउन सकिन्नँ भने मेरो राजीनामा माग्न तयार हुनु भनेर जनताको बीचमा भनेर आएको छु ।

० भनेपछि तपाइँले गरेका प्रतिबद्धताहरू पूरा हुने वा नहुने भन्ने कुराको झलक तपाइँको पहिलो ६ महिनाभित्रै थाहा हुन्छ ?

— निश्चितरूपमा मैले गरेका प्रतिबद्धताहरू पूरा हुने आधारहरू ६ महिनाभित्रै तयार हुन्छ र जनताले पनि महसुस गर्न थाल्छन् ।

० मधेशकेन्द्रित दलको गढको रूपमा चन्द्रनगर गाउँपालिका थियो, त्यो गढ भत्काउन कतिको चुनौतीहरू आए ?

— चन्द्रनगर गाउँपालिकामा जीत हासिल गर्न जति ठूलो चुनौतीहरू थिए, शायदै अन्य कुनै ठाउँमा भएको होला । ३०–४० वर्षदेखि यहाँ कुशासनको सत्ताले जडो गाडेको थियो । संघीय सांसद राजेन्द्र महतोको पनि गाउँपालिका यहि हो । उनको दाजु महेन्द्र महतो यसअघि गाउँपालिका अध्यक्ष थिए । त्यति मात्रै होइन, विगत ३०–४० वर्षदेखि उनको एकल परिवारवादको शासन थियो । महेन्द्र महतोको छोरा अहिले पनि मधेश प्रदेशका सांसद छन् । त्यो एउटा लडाइँ छँदै थियो । अर्कोतिर हाम्रै पार्टीभित्र अधिवेशनले गर्दा विभिन्न किसिमका असन्तुष्टि, असहयोगदेखि थुप्रै कुराहरू थियो । त्यो बाहेक अन्य पार्टीहरू पनि आआफ्नो हिसाबले लागेका थिए । म चारैतिरबाट एउटा चक्रव्यूहमा परेको महसुस गरेको थिएँ । तर भनिन्छ, राजनीतिमा जनता भगवान हुन्छ । म जुन उद्देश्य लिएर राजनीतिमा आएको छु, त्यो कुरा जनताले बुझेर नै मलाई मत दिए । यहाँ त चुनावमा अन्य प्रतिस्पर्धीहरूले पैसाको खोलो बगाएका थिए । ती चुनौतीहरूलाई जनताको बलमा पार लगाएको हुँ । अबको दिन पनि कम चुनौतीपूर्ण छैन । किनभने म जुन सोच र सपना बोकेर राजनीतिमा आएको छु, त्यसको विरूद्धमै चिन्तन बोकेका मान्छेहरू राजनीतिमा प्रभाव जमाएका छन् । यहाँ एउटा माइण्डसेट छ कि मधेशमा काम हुँदैन, लुट हुन्छ । तर म एउटा उदाहरणीय काम गरेर देखाउँछु । आफ्ना जनताको साथ र सहयोगमा मधेशमा काम कसरी हुन्छ, त्यो एउटा नमुना बन्नेछ भन्ने मेरो विश्वास छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ