लहान, २९ असोज । समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ प्रदेश नं. २ को प्रदेश समितिको समायोजन कार्यक्रम संजिला यादवको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति को घोषणा गर्दै लहानमा सम्पन्न भएको छ ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा पिंकी यादव, गिता यादव, तारा भण्डारी, सचिवमा आरती झा, सहसचिवमा मनतोरिया महरा, ज्योती भगत, शशि मित्रा माझी (मुसहर), कोषाध्यक्षमा अनिता यादव लगायतका चयन भएका छन् ।
समायोजन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले महिलाहरुलाई अधिकार सम्पन्न बनाउनका लागि महिलाहरु स्वयं सक्षम बन्दै संघर्ष गर्नुपर्ने बताए । कार्यक्रमको प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणुकुमारी यादवले आरक्षणमा आधारित हुनुभन्दा आफुलाई सक्षम बनाउने तर्फ महिलाहरु उन्मुख हुनुपर्नेमा जोड दिईन् । मुलुक बैकल्पिक शक्ति निर्माणको लक्ष्यका साथ अघि बढेको समाजवादी पार्टीका महिला नेतृहरुलाई सक्षम हुनुको विकल्प नरहेको उल्लेख गर्दै उनले महिला संगठनलाई सक्षम बनाउनुको विकल्प नरहेको उल्लेख गरिन् ।
कार्यक्रमका विशिष्ठ अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले अधिकार मागेर पाउने वस्तु नरहेको टिप्पणी गर्र्दैै युग सुहाउँदो सक्षमता प्रदर्शन गर्न आग्रह गरे । समाजवादी पार्टी नेपालमै समावेशिताको नमूना रहेको उल्लेख गर्दै उनले महिला संगठनलाई समावेशी बनाउने जिम्मा अव प्रदेश समितिको रहेको बताए ।
प्रदेश सरकार महिला सवलीकरणको पक्षमा काम गरिरहेको उल्लेख गर्दै उनले महिला नेतृत्वहरुलाई आफ्नै घरबाट महिलालाई सक्षम बनाउने दिशामा अघि बढ्न जोड समेत दिए ।
महिला नेतृ विणा यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सचिव एवं महिला इन्चार्ज दुर्गा शोब, सह इन्चार्ज लिला सिटौला, पवित्रा तिमिल्सीना , महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया