अपराध स्वीकारोक्ति गराउन प्रहरीले अमानवीय तरिकाले यातना दियो : थर्ड एलायन्स

समाचार

10/30/2018

काठमाडौं, १३ कार्तिक । हत्या अभियोगमा स्वीकारोक्ति गराउन प्रहरीले सप्तरीको राजविराज ६ का युवक बिक्की मेहतरलाई चरम यातना दिएको कार्यप्रति तराई मानव अधिकार रक्षक संञ्जाल (थर्ड एलायन्स) को गम्भीर ध्यानाकर्षण भएको छ ।

राजविराजमा कार्तिक १ गते मारिएकी आशा देवको हत्या अभियोगमा अनुसन्धान गर्न भन्दै, २५ वर्षीय मेहतरलाई कार्तिक ८ गते बिहीबार साँझ प्रहरीले बिना पक्राऊ पुर्जी, जबरजस्ती नियन्त्रणमा लिएको थियो ।

बयानका क्रममा आफू नगरपालिकाको सरसफाई कर्मचारी भएको र हत्यामा संलग्न नभएको बताए पनि प्रहरीले कुटपिट गरेर हत्या अभियोग स्वीकार गर्न बाध्य पारेको थर्ड एलायन्सको अनुगमनबाट पाइएको छ ।

हत्यामा संलग्न छैन भन्दा पनि प्रहरीले झण्डै ज्यानै जाने गरी कुटपिट गरेको थियो र उनको शरीरमा अझै पनि निलडाम रहेको थर्ड एलायन्सको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

अनुगमनको क्रममा बिक्की मेहतरलाई शुक्रबार बिहान ७ः३० बजे ७/८ पटक प्लाष्टिकको पाइपले हात र खुट्टामा कुटपिट गरेका थिए । प्रहरीले मुख कपडाले बाँधेर, उल्टो पारी पाँच मिनेटसम्म नाकमा पानी हालि श्वास रोक्ने गरि यातना दिएको पीडितको भनाई रहेको छ ।

कार्तिक १० गते बिहान प्रहरीले छाडेपछि खाना खान तथा हिडडुल गर्न समस्या भएको थियो, अहिले उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइ घर फर्किएका छन् ।

यसरी प्रहरीले अपराध स्वीकारोक्ति गराउन गैरकानूनी तरिकाले हिरासतमा राखी अमानवीय तरिकाले यातना दिएको हुँदा सो घटनाको निष्पक्ष छानबिन गरि दोषी प्रहरीलाई कारवाहीको दयारामा ल्याउनुको साथै पीडीतलाई क्षतिपूर्ति र आवश्यक उपचारको व्यवस्था मिलाउन थर्ड एलायन्सले सम्वन्धित निकायसंग माग गरेको थर्ड एलायन्सका सञ्चार संयोजक रक्षाराम हरिजनले विज्ञप्तिमार्फत् जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ