कपिलवस्तु, २७ साउन । मुलुकभरकै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोश्रो ठूलो चाड (ईद उल अजहा) बक्राईद धुमधामसँग मनाइएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इद कपिलवस्तुका मस्जिदहरुमा सोमबार भव्य रुपमा मनाइएको छ ।
इदुलफित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
कपिलवस्तुका मुस्लिम समुदायले हर्षोउल्लासका साथमा इद पर्व मनाएका छन् ।
ईदकै अवसरमा कपिलवस्तु नगरपालिका २ स्थित ईदगाह र नगरपालिका वडा नम्बर ४ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा सामूहिक नवाज पढी बकरा ईद मनाउन थालिएको हो ।
महिलाहरुलाई पर्दा लगाएर छुट्टै नवाज पढ्ने व्यवस्था गरिएकोले महिलाहरु बालबालिकासहित नवाज पढ्न मस्जिदमा पुगेका थिए ।
मुस्लिम बाहुल्याता रहेको कपिलवस्तुमा मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरी घर–घरमा खसीको बलि दिएर सो पर्व मनाउँदै आएका हुन् ।
सो अवसरमा कपिलवस्तु नगरपालिका २ मा रहेको तौलिहवा ईदगाहमा मदरसा नैमुलउलुमका मौलाना अली हसन नजामीले धार्मिक विधिअनुरुप नवाज पढाएका थिए ।
त्यसैगरी, कपिलवस्तु नगरपालिका ४ मा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा पाँच सय बढी महिलाले सामूहिक नवाज पढेका छन् ।
बकरा ईदका अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिन संघीय साँसद बृजेश कुमार गुप्ता, प्रदेशसभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव र काँग्रेस नेता सुधाकर पाण्डेय ईदगाहमा पुगेका थिए ।
ईद उल अजहाको अवसरमा प्रदेश ५ सरकारले सोमबार बिदा दिएपनि केन्द्र सरकारले बिदा नदिएको भन्दै कपिलवस्तुका मुस्लिम अगुवाहरुले गुनासो गरे ।
जिल्लाको तौलिहवा, कृवष्णनगर, पकडी, लवनी, चन्दौटा लगायतका क्षेत्रमा हर्षोउल्लासका साथ यो पर्व मनाइएको छ ।
तपाईको प्रतिक्रिया