कमिशनमा योजना वितरण, राज्यमन्त्रीका आफन्त र नातेदार बढी

समाचार

7/2/2019

रौतहट, १७ असार । गत वर्ष कागजमै करोडौँ रकम मिलान गरी खर्च गरेका रौतहट निर्वाचन क्षेत्र नम्बर १ ख का समाजवादी पार्टी नेपालका प्रदेश सांसद एवं प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले चालू आर्थिक वर्षका योजना कमिशनमा आफ्ना नजिकका नातागोता र आफन्तहरुलाई दिएका छन् ।

राज्यमन्त्री यादवले आफ्नो संसदीय विकास कोष तथा निर्वाचन क्षेत्र पूर्वाधार विकासको १ करोड़ ५० लाखको योजना प्रतिशतको हिसावले वितरण समेत गरेका हुन् ।

गत वर्ष किसानहरुका लागि प्रदेश सरकारले अनुदानमा उपलब्ध गराएको गहुँको बीउमा ठूलो अनियमिता गरेका राज्यमन्त्री यादवले कम्प्यूटर वितरणमा पनि अनियमिता गरेको हुँदा पनि सम्बन्धित निकायले छानविन गर्न सकेको छैन ।

गहुँको विउमा भएको अनियमिताको सम्बन्धमा प्रदेश सरकारले छानविन टोली गठन गरी पठाए पनि प्रतिवेदन सार्वजनिक गर्न सकिएको छैन । जिल्ला भ्रमण बढी गर्ने मन्त्रीको सूचिमा रहेका यादवले जिल्ला कृषि ज्ञान केन्द्र गौरबाट वितरण भएको बाजार सेड निर्माणमा कमीशन लिएर आफ्नै कार्यकर्तालाइ दिएका छन् ।

आफ्ना निजी सचिवमा राखेका सुनील यादवलाई अनुदानको पावर ट्रिलर दिएका छन् । प्रदेश सरकारको लगानीमा निर्माण हुने बाजार सेड राज्यमन्त्री आफ्नो गाउँ पथरामा आफ्नै कार्यकर्ता इनरदेव राय यादवलाई निर्माण गराउने जिम्मा दिएका छन् ।

सिगरमान धरमपुरमा करीव ३० लाखको लागतमा निर्माण हुने सेड तापिन्द्र यादवलाई दिएको बुझिएको छ । उपेन्द्र यादव जेठरहिया, राम बालक यादव सरुअठामा बजेट दिएको छ । योजना छनौट हुनु अगावै आफ्नो निर्वाचन क्षेत्रको संघ सस्थाका अध्यक्षलाई फोन गरेर कमीशन पहिला नै लिएको स्रोतको दावी रहेको छ ।

प्रदेश सरकारको योजनाबाट पर्सनल सहयोगी लखीन्द्र यादवलाई आफ्नो गाउँ निर्वाचन क्षेत्र नम्बर २ को पथरा बुधराममा सडक ढलानको योजना दिइएको राज्यमन्त्री यादवको कार्यप्रति विधान सभाका पार्टी कार्यकर्ताहरु असंतुस्ट देखिएका छन् ।

झूठा आश्वासन दिनमा माहिर भनिएका राज्यमन्त्री यादव कमीशन दिनेलाई बढ़ी योजना दिने गरेका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट सञ्चालन भएका योजनाहरुमा ५० प्रतिशत आफ्नो मान्छे हुनु पर्ने दबाब दिँदै आएका राज्यमन्त्री यादवले किसानलाई प्रत्यक्ष फाइदा हुने कार्यक्रममा कमीशन हुनु पर्ने अडान लिँदै आएको बुझिएको छ ।

कमीशन संकलन गर्न दुई जना व्यक्ति छुट्टै राखेका छन् । प्रदेश सरकारबाट प्रत्येक जिल्लामा निर्माण हुने शीत भण्डारणमा ठूलो रकम कमीशन लिएर पर्सा जिल्लाका व्यक्तिलाई दिएको छ । जयनगरमा करीव ४० करोड़को लागतमा निर्माण हुने भण्डारण केन्द्रको लागि १ करोड़ कमीशन लिएको समाचार स्रोतले जनाएको छ ।

पार्टीको कार्यकर्तालाई कुनै योजना नदिने राज्यमन्त्री यादवले नजिकका आफन्तहरुको संघ सस्थामा योजना पारेर आफ्नो रकम लिने गरेका छन् ।

राज्यमन्त्री यादव अहिले प्रदेश सरकारबाट वितरण हुने कृषि उपकरणमा ट्रेक्टर, सोलर पम्पी सेट, उपलब्ध गराउन मन्त्रीको नाउँमा अग्रिम बुकिंग गर्न लागेको बुझिएको छ ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा नेटवर्क समस्याले सम्पर्क हुन नपाएकोले उनको प्रतिक्रिया समावेश गरिएको छैन । सम्पर्क भएका बेला धारणा समावेश गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ