खुल्ला दिसामुक्त घोषणा हुँदैमा सरसफाईको कार्यक्रम रोकिँदैन : प्रमुख केसरी

समाचार

12/31/2018

रौतहट, १६ पुस । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवा सर्लाही रौतहटका प्रमुख अनिल केसरीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुँदैमा सरसफाईका थप कार्यक्रमहरु नरोकिने बताएका छन् ।

आइतबार खानेपानी सरसफाई तथा डिभिजन कार्यालयका इकाई कार्यालय गौरमा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहटले आयोजना गरेको सम्मान तथा समीक्षा कार्यक्रममा सम्बोधन गर्दै खुल्ला दिसामुक्त घोषणा भएको अवस्थामा सरसफाईका अन्य क्रियाकलाप तथा कार्यक्रम नरोकिने प्रस्ट गरेका छन् ।

रौतहट जिल्ला खुल्ला दिसामुक्त घोषणा भएपछि सामाजिक संजालमा भैरहेको आलोचनाप्रति ध्यानाकर्षण भएको बताउँदै यो पहिलो चरण भएकोले अबदेखि पूर्ण सरसफाई कार्यक्रम सञ्चालन हुने जनाए ।

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत भएका कमी कमजोरीलाई पूरा गर्ने समेत उल्लेख गरे । प्रदेश सरकारको कार्यक्रम सरसफाईको क्षेत्रमा रहेको हुँदा स्वरुप मात्रै फेरिएको केसरीले जनाए ।

४२ किलो मिटेर लामो गौर चन्द्रनिगाहपुर सडकखण्डमा एउटा पनि सार्वजनिक शौचालय नभएको टिप्पणीप्रति प्रमुख केसरीले शौचालय बनाउनका लागि जग्गा आवश्यक रहेको र जग्गा उपलब्ध हुन नसकेको कारण निर्माण हुन नसकेको जिकिर गरे ।

नयाँ संरचनामा स्थानीय सरकारको जिम्मेवारी सरेकोले स्थानीय सरकारले जग्गा व्यवस्थापन गर्ने र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले सहजीकरण गर्ने बताए ।

केही महीनापछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा परिणत हुने उनको कथन रहेको छ ।

प्रमुख केसरीले स्वच्छता अभियानको कारण गौर राइस मिलको जग्गा सार्वजनिकरण गर्न मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले प्रतिवद्धता जनाएकोले आफुहरु गौरवान्वित भएको बताए । उनले भने खुल्ला दिसामुक्त अभियानको परिणाम नै हो ।

घरमा चर्पी बनाए पनि खुल्ला ठाउँमा दिसा गर्ने जाने गरेको देखिएकोले मानिसको सोच नै अहिलेसम्म बदल्न नसकेको देखिएको छ । सरकार, कर्मचारी, नेता, निर्वाचित जनप्रतिनिधिहरुले सोच परिवर्तनका लागि पहल गरिदिनु पर्ने धारणा राखे ।

गौर बाजारमा सार्वजनिक शौचालय बनाइए पनि त्यसको संरक्षण गर्न कठिनाई भैरहेको टिप्पणी गर्दै प्रमुख केसरीले सार्वजनिक सम्पतिको संरक्षण गर्नुपर्ने चेतनाको विकास हुँदैन तबसम्म सरसफाईको अवस्था सृजना नहुने दावी गरे ।

मानिसको मानसिकतामा नकारात्मक सोच नै भरिएकोले सोचमा परिणत नभएसम्म सामाजिक, आर्थिक, विकास असम्भव रहेको उनको भनाइ रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री स्वच्छता अभियानमा सरसफाई दूत रेवन्त झाले जति गरे पनि जनचेतना कुरो मुख्य विषय बन्ने गरेको बताएका छन् । व्यक्तिको सोच पुरानै अवस्थाको रहेको पाइएकोले काम गर्न गाह्रो रहेको बताउँदै नकारात्मक धारणले भएको कुरो दबिदै गएको टिप्पणी गरे ।

एउटा पत्रकारमाथि लक्षित गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका झाले कमी कमजोरीलाई जिल्लाको बदनाम हुने गरी समाचार लेख्नु हास्यास्पद भएको बताए ।

केही मात्रामा शौचालय विभिन्न कारण समस्याले बन्न नसकेको यथार्थ रहेको भएपनि पुरै जिल्लामा शौचालय नभएको भनी अफवाह फैलाउने कार्यप्रति दुःख व्यक्त गरे ।

जिल्लाका वरिष्ठ पत्रकार शैलेन्द्र गुप्ताले रौतहट जिल्ला नेपालको ६३औ तथा प्रदेशको तेस्रो स्थानमा आएकोले खÞुशी भएको बताउँदै सरसफाईको अभियानमा अहोरात्र खट्नेहरुलाई धन्यवाद दिए ।

उनले यस अभियानको क्रममा शौचालय निर्माण गर्नबाट वंचित हुन गएका दलित समुदाय, गरीब, भूमिहीन किसानको पहिचान गरी पूर्ण सरसफाईको क्रममा शौचालय बनाउनु पर्ने सुझाव दिए ।

वरिष्ठ पत्रकार विनयकुमार लाल दासले सामाजिक संजालमा भैरहेको आलोचना तथा संचारकर्मीहरुले गर्ने टिका टिप्पणीबाट राम्रो कुराको सिक लिनु पर्ने बताए । नकारात्मक लेख्दैमा विरोधी हुन सकिदैन भने । उनले आफ्नो कार्य गर्ने क्रममा कहाँनिर कमी कमजोरी भयो भन्ने समीक्षा गर्नु पर्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र प्रसाद साहले डिभिजन प्रमुख अनिल प्रसाद केसरीको सक्रियताले रौतहट सरसफाईको क्षेत्रमा छलांग मारेको बताएका छन् ।

उनले केसरीको नेतृत्व गर्ने क्षमता बलियो रहेको बताए । गौर सरकारी संस्था महासंघका अध्यक्ष रामपुकार यादवले सबैको सहयोगबाट महाअभियान सफल भएको उल्लेख गरेका छन् ।

विगत ७ वर्ष पहिला वीरेन्द्र राजमार्गको भेडियाही, सवगढा, धमौरा लगायतका ठाउँमा बाटोभरि दिसा नै दिसा देखिने रौतहट अहिले परिवर्तन भएको छ । जुन ठाउँलाई गुहैगुहले नकारातमक आलोचना गर्ने गरेकोमा अहिले त्यो ठाउँ सफा र स्वच्छ भएका छन् ।

नाक थुनेर आउने रौतहट अहिले खुल्ला रुपमा मुख र नाक खोलेर हिड्ने भएकोले यो परिवर्तनको नमूना रहेको छ ।

सन् २०११ मा १८ प्रतिशत घरमा मात्र शौचालय भएको रौतहटमा सन २०१३ पछि शौचालय नै शौचालय देखिने रौतहट भएकोमा यसको पछाडि इंजिनियर केसरीको महत्वपूर्ण योगदान रहेका छन् ।

कार्यक्रममा सरसफाईका क्षेत्रमा दिनरात मिहिनेत गर्ने कार्यालयका सरसफाई फोकल व्यक्ति मोहमद मुस्ताक आलम, युएन हैबिटाटका दीपेन्द्र ठाकुर, सरसफाई सुपरभाइजर राजन साह, अभियान नेपालका कार्यकारी निर्देशक शत्रुघ्न सिंह, जीतेन्द्र कुशवाहा, वातावरण तथा बाल विकास परिषद्का धर्मेन्द्र पासवान, एकीकृत दिगो विकास केन्द्रका मिथलेश झा, मिशन साक्षरका शिवशंकर पासवान, आइएसडीएनका मुनीन्द्र ठाकुर लगायतका गैर सरकारी संघ सस्थाका प्रतिनिधिहरुलाई प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ