छोरी जस्तो ठूलो सम्पत्ति अरु केही छैन : प्रहरी महानिरीक्षक खनाल

समाचार

1/4/2019

रौतहट, २० पुस । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले छोरी जस्तो ठूलो अमुल्य सम्पति केही पनि नभएको बताएका छन् ।

गौर नगरपालिका, राजदेवी नगरपालिका तथा यमुनामाई गाउँपालिकाको संयुक्त आयोजनामा रौतहट जिल्लाको सदरमुकाम गौरस्थित ब्यारेक मैदानमा आयोजना गरिएको बाल विवाह विरुद्धको वृहत् संकल्प समारोह २०७५ मा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले छोरी र छोरीले हासिल गरेको शिक्षा भन्दा अरु सम्पति केही नभएको ठोकुवा गरे ।

बाल विवाह कÞानूनी अपराध भएकोले वाल विवाह गरेमा कÞानूनी कार्यवाही हुने चेतावनी दिँदै बाल विवाह, दाइजो प्रथा निर्मूल गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको बताए । उनले भने, ‘पदमा बहाल रहेसम्म तथा सेवा अवकाश भएपछि यो अभियानमा निरन्तर लागि रहने छु ।’

छोरीलाई छोरासरह उच्च शिक्षा दिलाउन अभिभावकहरुलाई आग्रह गर्दै खनालले बाल विवाह रोक्न सबैको सहयोग सहकार्य अपरिहार्य रहेको बताए ।

एक्लैले सामाजिक अपराधको रुपमा रहेका बाल विवाह, दाइजो प्रथा, महिला माथिको घरेलु हिंसा नियन्त्रण गर्न नसक्ने भएकोले बेटी पढाउ बेटी बचाऊ अभियानमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाजका अगुवा, शिक्षक, समाजसेवी, बुद्धिजीवी, कलमजीवी पत्रकारहरुको सहयोग आवश्यक रहेको उनको कथन रहेको छ ।

बाल विवाहको सूचना नेपाल प्रहरीलाई दिनु पर्ने भन्दै प्रहरी महानिरीक्षक खनालले बाल विवाह गर्ने, गराउनेलाई सूचना पाउने बित्तिकै कार्यवाही गर्न मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिए ।

वरिष्ठ प्रहरी उपरीक्षक भएका बेला करीव ६ वर्ष अगाडी बाल विवाह विरुद्धको कार्यक्रममा सहभागी भएका खनालले दोस्रो पटक वृहद् संकल्प सभामा सहभागी भएका थिए ।

सामूहिक रुपमा गरिएको बाल विवाह उल्मूलनको संकल्पलाई दृढताका पालन गर्नलाई सुझाव दिँदै यो अपराधलाई नियन्त्रण गर्ने अभियान सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रहरी महानिरीक्षक खनालले छोरीको विवाह २० वर्ष मुनि गरेमा मानव अधिकारको उल्लंघन हुने भएकोले २० वर्ष पारी विहे गर्नु पर्ने जिकिर गरे ।

खनालले छोरा छोरी भविष्यको कर्णाधार भएकोले २० वर्षभन्दा मुनि विहे नगर्न शिक्षकहरुलाई विनम्रतापूर्वक आग्रह गरे । खनालले डाक्टर, इंजिनियर मात्र नभई प्रहरी निरीक्षक छोरीहरु बन्नुपर्ने धारणा राखे ।

२० वर्षसम्मको उमेर शारीरिक, मानसिक रुपमा विकास हुने, खेल्ने पढने समय भएकोले सानो उमेरमा विवाह गर्ने प्रचलनलाई निरुत्साहित गर्दै दाइजो प्रथालाई समाप्त पार्दे अघि बढ्नु पर्ने जोड दिए ।

आजको बालबालिका भोलीका देशको कर्णाधार रहेको छ उनले भने मेरो २ जना छोरी रहेकोले २० वर्ष पछि विहे गर्ने प्रतिवद्धता जनाए ।

गौरबाट शुरू भएको यो अभियान देशभरि जाने र भोलिको दिनमा रौतहट लगायत सबै जिल्ला बाल विवाहमुक्त बन्ने आशा र विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी भएको मौका दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा रेखा थापा फाउंडेशनका अध्यक्ष नायिका रेखा थापाले महिला, बालबालिकाहरुको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको बताइन् । गर्भमा छोरीको हत्या गर्ने कार्यले दिनदिनै छोरीको संख्या काम हुदै गएको जिकिर गरिन् । नायिका थापाले बालिका सृष्टिको निर्माता रहेकोले छोरीलाई जन्म दिएर शिक्षा दीक्षा दिनु पर्ने जोड़ दिइन् ।

छोरा जस्तै छोरीहरु पनि सवल र सक्षम हुन सक्ने भएकोले विभेद नगर्न सबैसित आग्रह गर्दै नायिका थापाले बाल विवाह रोक्नु पर्ने धारणा राखिन् ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा प्रदेश २ का मुख्यमन्त्री स्वच्छता अभियानका सरसफाई दूत रेवन्त झाले बाल विवाह सामाजिक, कÞानूनी रुपमा दण्डनीय अपराध रहेकोले यस्तो कार्य नगर्न अपील गरे ।

छोरीलाई राम्रो शिक्षादीक्षा दिनुपर्ने जोड दिँदै बाल विवाह उन्मूलनको महाअभियानमा जुट्नु पर्ने बताए ।

कार्यक्रममा प्रदेश २ का नेपल प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह, यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया लगायतका व्यक्तिहरुले बाल विवाह रोक्नु पर्ने जोड दिँदै यो अभियानमा पूर्ण रुपमा लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।

समारोहका समापन मन्तव्य दिँदै गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले यो अभियानमा गौर नगरपालिका सक्रिय रुपमा लागिपरेको बताए ।

बाल विवाह, दाइजो प्रथा, बोक्सी, घरेलु हिंसाजस्ता सामाजिक विकृति हटाउनु पर्ने सोचका साथ संकल्प सभाको आयोजना गरिएको बताउँदै मेयर गुप्ताले यस्ता सुन्दर, स्वच्छ, पवित्र अभियानमा सबैले सहयोग गर्नु पर्ने आव्हान गरे ।

सामाजिक विकास, शिक्षाको सुधार, स्वास्थ्यको विकास, सामाजिक विकृति अन्धविश्वासको न्यूनीकरण पहिलो प्राथमिकता रहेको बताउँदै मेयर गुप्ताले नगरपालिका यसतर्फ कार्य बढाइसकेको बताए ।

उनले भौतिक पूर्वाधारको विकाससँगै महिला सशक्तिकरण, बाल अधिकारको संरक्षण, बेरोजगारी समस्याको न्यूनीकरण गर्नु जरुरी रहेको टिपण्णी गरे ।

सामाजिक विकृति हटाउनका लागि जनचेतना जगाउनु पर्ने एक मात्र विकल्प रहेको उनको भनाइ रहेको थियो । मेयर गुप्ताको सक्रियतामा पहिलो पटक गौरमा आयोजना गरिको वृहद् कार्यक्रममा तिनै स्थानीय तहमा रहेका विद्यालयका बालबालिका शिक्षक, शिक्षिका, निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समारोहमा बाल विवाहले निम्त्याउने सकने समस्या, हुन सक्ने प्रभाव, शारीरिक मानसिक तनाव झल्किने खालका विद्यालयका बालबालिकाहरुले झांकी प्रस्तुत गरेका थिए ।

आधारभूत विद्यालय बाल मंदिर, जी स्टार इंगलिश, बोर्डिंग स्कुल, कृष्णमार्षि इंगलिश, बोर्डिंग स्कुल लगायतका विभिन्न विद्यालयका बालबालिकाहरुले नाटक, नृत्य प्रस्तुत गरेका थिए ।

बाल विवाह विरुद्धको अभियानमा सहयोग पुर्याउँदै आएका गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की, यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर घिमिरे लगायत गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साह, २ का राकेश झा, ५ का रामस्वार्थ राय यादवसहित राजदेवी नगरपालिकाका वडा अध्यक्ष संजय कुमार यादव, राम नरेश यादव, यमुनामाईका वडा अध्यक्ष नन्दलाल यादव, अश्विनी यादव, समाजसेवी चिरंजीवी सिंह, संचारकर्मी राकेश कुमार यादव, धर्मेन्द्र कुमार साहलाई कदर पत्रबाट सम्मानित गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा गणेश गिरीले गरेका थिए ।

महानिरिक्षक खनालले जिल्ला प्रहरी कार्यालयमा जडान गरिएको वायरलेस सिसि कैमराको पनि उदघाटन समेत गरेका छन् । सिसि कैमरा गौर नगरपालिकाको सहयोगमा जडान गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ