जनकपुरधाम, १३ माघ । जनकपुरमा साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । मैथिली विकास कोषले जनकपुरमा कला, साहित्य तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागेको हो।
महोत्सव फाल्गुन १८ गतेदेखि २३ गतेसम्म चल्ने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । ६ दिनसम्म चल्ने महोत्वसमा १० वटा नाटक मञ्चन गरिनुका साथै राजनीति, कला, संस्कृति, भाषालगायतका विषयमा गहन छलफल गरिने उनले बताए ।
महोत्सवमा नेपाल तथा भारतका साथै बंगलादेश र अफगानिस्तानका नाट्य समूहरुको समेत सहभागीता रहने छ । महोत्सवमा सहभागी हुन श्रीलंका र केहि युरोपियन मुलुकलााई आमन्त्रण गरिए पनि जनकपुरमा उपयुक्त थिएटर हल नभएकाले आउन नमानेको अध्यक्ष चौधरीले बताए । महोत्सवमा भारतबाट आउने नाट्य समूहले हिन्दी, भोजपुरी र मैथिली गरी तीनवटा नाटक मञ्चन गर्नेछन् । यसैगरी बंगलादेश र अफगानिस्तानबाट आउने नाट्य समूहले आफ्नै भाषामा नाटक मञ्चन गर्ने बताइएको छ ।
यसैगरी काठमाडौंबाट सहभागी हुने नाट्य समूहले नेपाली र जनकपुरको टोलीले तीनवटा मैथिली नाटक मञ्चन गर्ने कार्यक्रम तय भएको कोषका अध्यक्ष चौधरीले जानकारी दिए ।
मैथिली विकास कोषले यसअघि २०७३ सालमा पहिलो पटक कला साहित्य एवं नाटक महोत्सवको आयोजना गरेको थियो ।
तपाईको प्रतिक्रिया