जनकपुरधाम, १४ माघ । उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन् । चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उनले उल्लेख गरे ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग कारखाना पुनः सञ्चालन गर्ने र यसका लागि प्रदेश सरकारको सचिवालय स्थापना गर्न अर्को व्यवस्था नभएसम्मको लागि आवास क्षेत्र प्रयोग गर्ने सहमति भएको पनि मन्त्री यादवले दाबी गरे । तत्काल कारखाना परिसर खाली गर्न प्रदेश सरकारसँग उनले आग्रह गरे ।
जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महेन्द्र राय यादव र प्रदेश २ का मुख्यमन्त्री राउतसमेत सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री यादवले यसका लागि उद्योग मन्त्रालय अघि बढिसकेको बताए । ‘विदेश पैठारी गर्ने हिसाबले स्तरीय चुरोट उत्पादन गर्न पिपि (पब्लिक–प्राइभेट साझेदारी) मोडेलमा कारखाना पुनः सञ्चालन गर्ने सोच बनेको छ । यसका लागि चीनबाट तीनवटा टोली र भारतबाट दुई टोलीले कारखाना भिजिट गरिसकेको छ,’ उनले भने ।
करिब सात वर्षदेखि उत्पादन ठप्प रहेको जचुकालिले कर्मचारीलाई तिर्नुपर्ने वक्यौता बापतको चार करोड रुपैयाँ आपूm मन्त्री भएयता भुक्तान गरेको मन्त्री यादवको दाबी छ ।
त्यस्तै, विराटनगरको जुट कारखाना, विरगंजको चिनी कारखाना तथा कृषि औजार कारखाना, हेटौडाको कपडा उद्योग, गोरखकाली टायर लगायत उद्योग सञ्चालन गर्ने तयारीमा सरकार जुटेको उनले जानकारी दिए । जनकपुर चुरोट कारखानाले पुनः चुरोट बनाउन सुरु गरे पनि त्यो उत्पादन नेपालमा बिक्री नगर्ने उनले दाबी गरे ।
तपाईको प्रतिक्रिया