जेष्ठ नागरिकका लागि इटहरीका छ ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण

समाचार

9/29/2019

इटहरी, १२ असोज । जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका छ ठाउँमा निःशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

आइतबार इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको शिविरमा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा ल्याव सेवा र औषधी पनि निःशूल्क गरिएको छ ।

विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा. रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा. मिथलेश कुमार गुप्ता, स्त्री रोग विशेषज्ञ डा. सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा आश्विन कुमार गुप्ता लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका छन् ।

६० वर्ष माथिका जेष्ठ नागरिकका लागि निःशूल्क स्वास्थ्य परीक्षण शिविर गरिएको उपमहानगरले जनाएको छ ।

विहान इटहरी उपमहानगकी उपप्रमुख लक्ष्मी गौतमले शिविर उदघाटन गरेकी थिइन् ।

दिनभर पानी परेपनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र बरालले बताए ।

यसअघि जेष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १, ३, १२, १६ र १७ नम्बर वडामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो ।

पाँच ठाँउमा भएका शिविरमा २ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । आफ्नै गाँउ–ठाँउमा उपमहानगरले निःशूल्क स्वास्थ्य जाँच गरिदिएपछि जेष्ठ नागरिक खुशि भएका छन् ।

जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सय वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेटेका छन् ।

असोज १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सन्जिव शर्मासँग स्वास्थ्य सम्बन्धि सचेतना र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ