मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको संख्या बढ्दो

समाचार

8/1/2019

नेपालगञ्ज, १६ साउन । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान् अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान् अगाडि टोपी अनिवार्य गरेको छ । 

धार्मक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको जानकारी दिए । 

मुस्लिम समुदायले आफ्नै परम्पराअनुसारको टोपी लगाउँदै आए पनि पछिल्लो समयमा बाँकेका मुस्लिम समुदायका अगुवाहरुले देशको राष्ट्रियता झल्कने ढाकाटोपी लगाउन थालेका छन् । इस्लाम धर्ममा कुन टोपी लगाउने भन्ने तोकिएको छैन । त्यसैले पनि पूजाआजा वा शुभकार्य गर्दा ढाकाटोपी लगाउने प्रचलन बढ्न थालेको धर्मगुरु मन्जरीको भनाइ छ ।

मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको सङ्ख्या बढ्दो छ । अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर विभिन्न कार्यक्रम, सभा, समारोह वा अन्य कुनै शुभकार्यमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउन थालेका छन् । कुनै शुभकार्य वा धार्मिककार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको छ । 

नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँ तिहारमा हिन्दूको हातबाट टीका लगाउँदै आएका छन् । नेपाली भएको चिनाउने एकमात्र माध्यम ढाकाटोपी भएकाले बाहिरी देश जाँदासमेत ढाकाटोपी लगाएर जाने गरेको छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ