ढल्केवरमा आँखा अस्पताल खुल्यो, नगरवासीलाई मोतियाविन्दको निःशुल्क शल्यक्रिया गर्ने

समाचार

1/22/2019

धनुषा, ८ माघ । बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले धनुषाको ढल्केवरमा आफ्नो शाखा विस्तार गर्न लागेको छ ।

ढल्केवरका स्थानीय समाजसेवी राजाराम महतो र राजकिशोर महतोले दान गरेको ६ कठ्ठा जग्गामा भवन निर्माण गरेर अस्पतालले आफ्नो शाखा विस्तार गर्न लागेका हुन् ।

सोमबार रेयुकाई एइको मसुनागा आँखा अस्पतालका अध्यक्ष मधु आचार्यको अध्यक्षता तथा डोली इन्टर्मड इन्टरनेशनल न्यूयोर्कका अध्यक्ष स्कट ≈यामिल्टनको प्रमुख आतिथ्यमा एक समारोहका बीच अस्पतालको ढल्केवर शाखा भवनको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ ।

प्रमुख अतिथि ह्यामिल्टनले अस्पतालको ढल्केवर शाखा भवनको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

अस्पतालले सञ्चालनमा ल्याएको आँखा उपचार केन्द्रमा आँखा सम्बन्धी समस्या भएका रोगीहरुले मंगलबारदेखि सेवा लिन सक्ने जनाइएको छ ।

उपचार केन्दमा आईतवार बाहेक हप्ताको प्रत्येक दिन विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म आँखा सम्बन्धित रोगीहरुले सेवा लिन सक्ने अस्पताल स्रोतले जनाएको छ ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष मधु आचार्यले ढल्केवरमा तत्कालै संचालनमा ल्याएको आँखा उपचार केन्द्रमा मोतियाविन्द लगायत आँखा सम्बन्धी कुनै पनि शल्यक्रिया सम्भव नरहेकोले बनेपा लगेर मोतियाविन्दको निःशुल्क शल्यक्रिया गर्ने बताए ।

उनले अस्पताल निर्माणका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट ठोस सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । स्थानीय समाजसेवी राजाराम महतो र राजकिशोर महतोले उपलब्ध गराएको ६ कठ्ठा जग्गामा सुविधा सम्पन्न आँखा अस्पताल निर्माण गरिने अध्यक्ष आचार्यले बताए ।

उनले एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण हुन लागेको आँखा अस्पतालमा नेत्र विशेषज्ञ टोली रहने र आँखाका सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने जनाए ।

आँखा अस्पतालका लागि जग्गा दान गर्ने समाजसेवी राजाराम महतो र राजकिशोर महतो दुवै दाजुभाई हुन् । अस्पतालले दुवै दाजुभाइलाई सम्मान पत्र सहित सम्मान गरेका छन् ।

यस्तै, आँखा अस्पतालको शाखा विस्तारकै लागि मिथिला नगरपालिका मातहत वडा नम्वर ७ गैरी टोलमा रहेको ५ विगाहा जग्गामध्ये उत्तरतर्फबाट १ विगाहा जग्गा रेयुकाई एइको मसुनागा आँखा अस्पताललाई उपलब्ध गराएको छ ।

यता, कार्यक्रममा बोल्दै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले नगरपालिका भित्रका मोतियाविन्द रोगीलाई निःशुल्क शल्यक्रिया गराउने बताएका छन् ।

उनले रेयुकाई आँखा अस्पतालसंग सहकार्य गरेर नगरपालिका भित्रका मोतियाविन्द रोगीलाई निःशुल्क शल्यक्रिया गराउने बताएका हुन् ।

बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले नगरपालिका भित्रका मोतियाविन्द रोगीलाई निशुल्क शल्यक्रिया गर्छ र निशुल्क बस्ने व्यवस्था मिलाउँछ, मेयर महतोले भने बनेपासम्म जाने आउने यातायात खर्च नगरपालिकाले उपलब्ध गराउँछ ।

उनले मोतियाविन्दको शल्यक्रियाका लागि बनेपासम्म जाने आउने यातायात खर्च बापत जनही १५ सय रुपैया नगरपालिकाले उपलब्ध गराउने बताए । कार्यपालिकाको निर्णय अनुसार नै १ विगाह जग्गा आँखा अस्पताललाई उपलब्ध गराएको छु, मेयरले भने ।

यस्तै, रेयुकाई एइको मसुनागा आँखा अस्पतालका सल्लाहकार डा. शसांक कोईरालाले ढल्केवर आँखा उपचारको हब बन्ने बताए ।

‘नेपालमा आँखा अस्पताल थुप्रै छन् तर पनि समस्या बाँकी नै छ कोइरालाले भने, यहाँ बन्ने अस्पतालमा नेपालीलाई मात्र नभएर भारतीय नागरिकलाई पनि सुविधा पुग्छ’ । अस्पताल खोल्नु ठुलो कुरा होईन, अस्पताललाई व्यवस्थित पारेर सेवा दिनु नै महानता हो, उनले थपे ।

कार्यक्रममा मिथिला नगरपालिकाका उपप्रमुख तारा कुमारी बस्नेत, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, अष्ट्रेलियन राजदुत पिटर बर्ड, अस्पताल परियोजनाका कल्याण सिलवाल, असारे श्रेष्ठ, विभूति चनु ठाकुरलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ