जनकपुरधाम, २६ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।
सिरहाको लहान १८ स्थित पकडीया गढको संरक्षण सम्बद्र्धनको उद्देश्यले आयोजित पाँचौ पकडीया गढ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले पकडीया गढको विकासका लागि प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पकडीया गढको वृहत डिपिआर तयार गर्न संरक्षण समितिलाई आग्रह समेत गरेका हुन् ।
आगामी आर्थिक वर्षमा प्रदेशको धार्मिक पर्यटकीय करिडोर निर्माणको कार्य सुरु हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले राजा सहलेशको गाथासँग जोडिएको पकडीया गढलाई पनि करिडोर भित्रै राखेर विकास कार्य अघि बढाउने उल्लेख गरे ।
धार्मिक पर्यटकीय करिडोरको निर्माण पछि लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले राखेको उल्लेख गर्दै उनले त्यसपछि यस क्षेत्रमा आर्थिक गतिविधि तीव्र हुने बताए ।
गंगाबहादुर राउत क्षेत्रीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।
महोत्सव उद्घाटनअघि सोही वडामा युथ मुस्लिम वेलफेयर सोसाइटीद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले मुस्लिम समुदायलाई शिक्षामा जोड दिनु पर्ने बताएका थिए ।
प्रदेश सरकारले मुस्लिम समुदायको शिक्षाका लागि मदरसा बोर्ड गठन गर्न लागेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मदरसा बोर्ड गठन भैसकेपछि मदरामा अध्ययन गर्नेहरुले समेत सरकारी मान्यता पाउने बताए ।
मुख्यमन्त्री राउतले लहानस्थित जे एस मुरारका बहुमुखी क्याम्पसको निरीक्षण भ्रमण समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया