बाँके, २३ कार्तिक । अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्छन् । नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँतिहारमा टीका लगाउँदै आएका छन् ।
“यसपालि साइतको टीका लगाउन नपाइने भयो”, उनले भने, “यसपालि त टीका शुक्रबार परेकाले छ, १ बजे नमाज पढेर २ बजेतिर टीका लगाउन जान्छु ।” चुन्नाले नेपालगञ्ज–१, धम्बोझी निवासी पुनम सिंहको हातबाट टीका लगाउँदै आएका छन् ।
“मैले जहिले पनि साइतकै टीका लगाएको छु”, उनले भने, “यसपालि शुक्रबार टीका परेकाले साइतमा लगाउन नपाइने भयो ।” आफूलाई सेल र फिनी रोटी अति नै मनपर्ने बताउँदै उनले स्कूल पढ्दादेखि नै छिमेकी एकजना बाहुन बाजेको घरमा फिनी र सेलरोटी पाक्दा खान जाने गरेको विगत सम्झे ।
नेपालगञ्जको घरबारीटोल पहाडी समुदायको बाक्लो बसोबास रहेको बस्ती हो । त्यही बस्तीमा हुर्किएका चुन्नाले भने, “छिमेकी भनेका हरेक समस्या पहिला काम लाग्ने मान्छे हुन्, आफन्त त पछि आइपुग्छन् । यही सोचका साथ म पनि छिमेकी साथीहरू दुवै समुदायको पर्वमा रमाउन थालेँ ।”
तपाईको प्रतिक्रिया