नेपालगञ्ज, ५ असोज । मारवाडी युवा मञ्चले नेपालगन्ञ्जमा निःशुल्क क्यान्सर जाँच शिविर सञ्चालन गरेको छ । क्यान्सरको शुरुवाती अवस्था पत्ता लगाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क क्यान्सर जाँच शिविर आयोजना गरिएको मारवाडी युवा मंच बाँकेका अध्यक्ष महेश अग्रवालले बताए ।
अखिल भारतीय मारवाडी युवा मंचको सहयोगमा आयोजना गरिएको शिविरमा मुखको सम्पूर्ण जाँचका साथै महिलाको पाठेघरको क्यान्सर, सुगर, ब्लडप्रेसर, रगतको सबै प्याथालोजी जाँचसमेत निःशुल्क प्रदान गरिएको शिविरका संयोजक प्रविण सरावगीले जानकारी दिए ।
दैनिक ८० हजार शुल्क तिरेर ‘क्यान्सर डिटेक्सन भ्यान’ ल्याएको उनले बताए । क्यान्सरको पहिलो ‘स्टेज’ पत्ता लगाउन सकिए मानिसको ज्यान जोगाउन सकिने भएकोले शिविर आयोजना गरेका सरावगीले बताए ।
बिहान ९ बजेदेखि शुरु गरिएको स्वास्थ्य परिक्षण बेलुका ५ बजे सम्पन्न गरिएको थियो ।
शिविरमा एक सय ५० जनाको स्वास्थ्य जाँच गरिएको भन्दै उनले शिविरमा आएका विरामीको निःशुल्क डिजिटल एक्स–रे सेवासमेत उपलब्ध गराइएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया