काठमाडौं, १६ पुस । नेपालले भारतसँग दुईवटा रेल किन्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रेल खरिदका लागि सबै प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै जनवरी १० (पुस २६ गते) दुई देशबीच खरिदको सम्झौता हुने जानकारी दिए । मन्त्री महासेठले खरिद गर्ने सम्झौता भएको २–३ महिनामा भारतबाट रेल नेपाल आइपुग्ने बताए ।
उनले सम्झौता गरेको एक महिनाजति रेल उपलब्ध गराउन भारतको रेल विभागलाई आग्रह गरेको बताउँदै नेपालको राष्ट्रिय झन्डा भएको रेल कुन दिन आइपुग्छ भन्ने टुंगो जनवरी १० मा लाग्ने जानकारी दिए । पहिलो रेल आएको अर्को २–३ महिनामा दोस्रो आउने महासेठको भनाइ छ । पहिलो रेल खरिदका लागि भारतले मूल्य पठाइसकेको र त्यो मूल्यमा नेपालले पनि सहमति जनाइसकेको उनले बताए ।सरकारले चालु आर्थिक वर्षमा रेल खरिद गर्न ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।
महासेठले भारतसँग खरिद गर्न लागेको रेल आधुनिक भएको समेत दाबी गरे । भारतसँग जोडिएका सीमा नाका र तराईका जिल्लामा रेलमार्गको निर्माण भारतीय सहयोगमा भइरहेकाले भारतबाहेक अन्य मुलुकबाट रेल खरिद गर्न नसकिने उनको भनाइ छ । पूर्व–पश्चिमसम्म रेल सञ्चालन गर्ने सरकारको योजना रहे पनि हाल जयनगर–जनकपुर–कुर्था (३५ किमी) खण्डमा भारतकै सहयोगमा रेल मार्ग निर्माण भइरहेको छ । जयनगर–जनकपुर–कुर्था खण्डको रेलमार्ग निर्माण गर्न भारतले करिब १० अर्ब रुपैयाँ सहयोग गरेको छ ।
तपाईको प्रतिक्रिया