काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताएका छन् ।
निगमको ६१औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।
प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरेका छन् ।
“वायु सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?” प्रधानमन्त्री ओलीले भने “यथास्थितिमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन ।”
प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नु पर्ने र त्यसलाई कार्यान्वयन गर्ने दृढता पनि हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले निगमको व्यवस्थापन तत्काल सुधार गर्नु पर्ने बताएका छन् । आकासमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें, नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि” केही समय अघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने “तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकासमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो ।”
निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको प्रधानमन्त्रीले बताएका छन् । “गन्तव्य कहाँ हो थाहा छैन वाइडबडी किनेको छ, पाइलट छैन जहाज किनेको छ” प्रधानमन्त्री ओलीले भने “यस प्रकारका निर्णयले निगम धरासायी हुँदै गएको हो ।”
प्रधानमन्त्री ओलीले जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया