काठमाडौं, ६ माघ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ काठमाडौंमा शुरू भएको छ ।
भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा संयुक्त रुपमा आयोजित सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरे ।
नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले युवासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रममा सहभागी जनशक्ति सम्भावनायुक्त रहेको बताए ।
उनले नेपाली जनता विदेशमा गएर काम गर्ने मात्रै नभई स्वदेशमै श्रम लगानी गरेर शिक्षा, प्रविधिसँगै आर्थिक विकासमा सघाउन सक्ने क्षमताका रहेको बताए ।
राजदूत पुरीले विश्वव्यापीकरणको वर्तमान युगमा नेपाल र भारत फाइदा लिने चरणमा रहेको उल्लेख गर्दै सम्मेलन युवा उद्यमीका लागि महत्त्वपूर्ण अवसर भएको विश्वास व्यक्त गरे ।
पछिल्लो ३०–४० वर्षमा सूचना र प्रविधिको तीव्रतर विकास भएकाले यसबाट फाइदा लिने बेला आएको उनले बताए ।
सम्मेलनमा नेपाल र भारतका ५ सयभन्दा बढी युवा उद्यमी, लगानीकर्ता, व्यापारी, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धी जानकार सहभागी छन् ।
नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा गहन छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास रहेको आयोजक क्लाक बि विजनेश इन्नोभेसनका निर्देशक डिल्लीराज जोशीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया