राकेश यादव, रौतहट २२ भाद्र । गौर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक किरण ठाकुरले पित्त पत्रकारिताले चित दुखाउने काम भएको टिप्पणी गरेकी छिन् ।
सत्यतथ्य एवं विश्वसनीय समाचार लेख्नुको साटो पूर्वाग्राही सोच राखेर आधारहीन समाचार प्रकाशन प्रसारणले समाजमा पत्रकारिता प्रतिको जनताको विश्वास हराउँदै गएको उनले दावी गरिन् ।
न्यायिक समितिले गरेको कार्यको प्रगति विबरण सार्वजानिक गर्नका लागि नगरपालिका कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उपमेयर ठाकुरले समाज विकासको कार्यमा सक्रीय भूमिका निर्वाह गर्नुको साटो केहि पत्रकारको क्रियाकलापले रौतहटको सिंगो पत्रकारहरुको कार्यप्रति अविश्वसनीयता बढदै गएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘पीडित महिला, पुरुष, बालबालिकाको रक्षाको सेवा सुसारको निमित स्थापना गर्न लागिएको मानव सेवा केन्द्रको सम्बन्धमा भ्रमण समाचार प्रकाशन गर्ने कार्य दुःखद रहेको छ ।’ सबैको सहयोगमा हुन गइरहेको कार्यमा सहयोग गर्नुको साटो अवरोध पुर्याउने कार्य अशोभनीय भएको जिकिर गरिन् ।
कार्यक्रममा उपमेयर ठाकुरले २०७४ साल माघ १ गते गठन भएको न्यायिक समितिले २ गतेदेखि कार्य शुभारम्भ गरेको र अहिलेसम्म विभिन्न ६१ उजुरी मध्ये ६ वटा निर्णय २२ मिलापत्र र ३२ कार्यवाहियुक्त अवस्थामा रहेको जानकारी गराएकी छन् । जग्गा खिचोला सम्बन्धी ३१ तथा सार्वजनिक जग्गा सम्बन्धी १२ उजुरी परेको छ ।
महिला हिंसा र अभद्र व्यवहार सम्बन्धी ४ उजुरी दर्ता भएको ठाकुरले बताइन् । महिला अधिकारकर्मी समेत रहेकी ठाकुरले न्यायिक समितिमा परेको उजुरीको सम्वन्धमा न्याय सम्पादन गर्ने कार्यमा चुनौती बढी रहेको उल्लेख गरिन् ।
उनले भनिन् ‘न्याय सम्पादन गर्न कठिनाई हुने गरेको भए पनि स्थलगत गएर समाधान गर्ने प्रयास गर्दैछु । कÞानूनी जानकारी नहुँदा समस्या हुनु स्वाभाविक हो ।’
कानून व्यवसायीको राय सल्लाह सुझाव लिएर निष्पक्ष रुपमा न्यायको प्रत्याभूति गराउने अभ्यास गरिरहेको उपमेयर ठाकुरले बताइन् ।
संचारकर्मीहरुको प्रश्नको जवाफमा आर्थिक वर्ष २०७४।०७५ मा नगरपालिकाले गैरसरकारी संस्थाको माध्यमबाट २ लाख ९४ हजार ७५० रुपैयाँको बृक्षरोपण गराएको बताइन् । गौरबाट प्रकाशित हुने एक दैनिकले बृक्षरोपणमा २४ लाख खर्च गरेको समाचार प्रकाशित गरेको थियो ।
चालू आर्थिक वर्षमा पूर्वाधारका ठोस योजनाहरु पारदर्शी ढंगबाट लागु गराउने विश्वास जनाउँदै मदिरामुक्त गौर नगरपालिका बनाउने अभियान निरन्तरता दिने प्रतिवद्धता जनाइन् । उपमेयर ठाकुरले न्यायिक समितिको काममा नगर प्रमुख अजय कुमार गुप्ताले सक्दो सहयोग गर्दै आएको जिकिर गरिन् ।
तपाईको प्रतिक्रिया