रौतहट, २० असार । प्रदेश सरकारको निष्क्रियताको कारण रौतहटको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको आभाव कायमै रहेको छ ।
कर्मचारी आभावको कारण कतिपय कार्यक्रम कार्यान्वयन हुन सकेका छैन । निमित्त कार्यालय प्रमुख सरोज यादवले कर्मचारी आपूर्तिका लागि मन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान हुन नसकेको बताएका छन् ।
नयाँ संरचनाले प्रदेश सरकारको मातहतमा कार्यालय समायोजन भएकोले सञ्चालनको जिम्मेवारी प्रदेश सरकारको रहेको छ ।
१६ जना कर्मचारीको दरबन्दी रहेको विज्ञ केन्द्रमा वर्तमान अवस्थामा ३ जना प्राविधिकसहित ५ जना कर्मचारी कार्यरत रहेका छन् । जनशक्तिको कमीले जिल्लाभरि गर्नुपर्ने वार्षिक कार्य समयमा गर्न कठिनाई भएको प्रमुख यादवले सुनाए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहत रहेको कार्यालयमा कर्मचारी अपुग रहेकोले सेवाग्राहीको कार्य प्रभावित भइरहेको छ । राज्यमन्त्री जिल्लाकै भएकोले कर्मचारी आपूर्ति नहुनु लज्जास्पद रहेको छ ।
प्रदेश सरकार मातहत समावेश भएका जिल्ला कृषि ज्ञान केन्द्र, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयको अवस्था उस्तै रहेको छ ।
डिभिजन प्रमुख रमानन्द दासले ८ जिल्लाको तुलनामा सबैभन्दा कम बजेट रौतहटमा दिइएको बताएका छन् । उनले रौतहटबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले बजेटको विषयमा चासो लिनु पर्ने बताए ।
अपुग बजेटबाट विकास निर्माणको कार्य पूरा गर्न कठिनाई हुने भएकोले आवश्यकता अनुसार बजेट दिनु पर्ने उनको कथन रहेको छ ।
सबैको सरोकारको कार्यालय रहेकोले समयमा निकासा, कर्मचारीको पूर्ति, चाहिने स्रोत साधन भए जनताको चाहनाअनुसार कार्य गर्न सकिने सहज हुने प्रमुख दासले धारणा राखेका छन् ।
तपाईको प्रतिक्रिया