प्रदेश २ मा मुख्यमन्त्री स्वच्छता अभियान सुरु

समाचार

1/29/2019

वीरगन्ज, १४ माघ । प्रदेश २ सरकारले ‘स्वच्छ मधेश समृद्ध प्रदेश’ भन्ने मूल नारासहित मुख्यमन्त्री स्वच्छता अभियानसुरु गरेको छ । अभियानको मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जबाट शुभारम्भ गरे । वीरगन्जको घण्टाघर चोकमा सोमबार बिहान आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले बेलुन उडाएर अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले मानव विकास सूचांकमा सबैभन्दा पछि परेको प्रदेश २लाई समृद्ध बनाउका लागि स्वच्छ मधेश हुन जरुरी रहेको र त्यसको लागि स्वच्छ जनशक्ति आवश्यकता रहेकाले यो अभियानको थालनी गरेको बताए ।

प्रदेश २ का छोरीचेलीको भविष्य सुरक्षित गर्नकै लागि प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ ‘छोरी शिक्षा जीवन वीमा’ लगायतका अभियान पनि ल्याएको जानकारी दिँदै मुख्यमन्त्री राउतले फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट वीरगन्जबाटै यो अभियानको औपचारिक सुरुवात गरिने जानकारी दिए । 

अभियानको शुभारम्भ पछि मुख्यमन्त्री राउतले आफैं वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, विर्ताहुँदै छपकैयासम्मको सडकमा झाडूले बढाएर फोहोर सफा गरेका थिए ।
मुख्यमन्त्री स्वच्छता अभियान प्रदेश २ का आठवटै जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने अभियानका प्रदेश संयोजक सलाउदीन अहमदले बताए ।

यो अभियानका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको छ । अभियानका क्रममा प्रदेश २ का आठवटै जिल्लामा दुई दुईवटा सार्वजनिक शौचालय निर्माण गरिने छ भने अभियानअन्तर्गत नै प्रदेशमा रहेका मठमन्दिर र सार्वजनिक पोखरीको सरसफाइ र सौन्दर्यकरण पनि गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ