जनकपुरधाम, १४ माघ । प्रदेश २ मा प्रदेश सरकारको ल्याएको बजेट तथा कार्यक्रम मन्त्री वितरणमुखी भएको नीति आयोगले टिप्पणी गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सरकारको कामकाज प्रति पनि नीति आयोग असन्तुष्टि जनाउँदै मन्त्रीमुखी र कार्यकर्तामुखी फुटकर कार्यक्रम नगर्न आग्रह गरेको छ । जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाटमा प्रदेश २ नीति आयोगका सदस्य डा.सुरेन्द्रकुमार झाले सरकारलाई दीर्घकालीन योजनाका लागि दिएको नीति तथा कार्यक्रम एवं बजेटलाई प्रदेश सरकारका मन्त्रीले वितरणमुखी बनाएर जनतामुखी काम नगरेको आरोप लगाए ।
उनले आयोगको परिकल्पना अनुसार ४९ जना कर्मचारीको आवश्यकता भए पनि हालसम्म एक कार्यालय सहयोगी र एक जना रनर बाहेक कुनै पनि कर्मचारी नरहेकाले नीति आयोगले ठोस काम गर्न नसकेको बताए । अर्का सदस्य राजकुमार लेखीले प्रदेश सरकार र कर्मचारीको असमञ्जस्यताका कारण प्रदेश सरकारको कामकाज अघि बढ्न नसकेको उल्लेख गरे ।
उनले सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव र वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाबीच भएको विवादले उग्ररुप लिएपछि सरकारको काममा ह्रास आएको दाबी गरे ।
सदस्य डा. झाले प्रदेश २ सरकारले ३० अर्बको बजेट ल्याए पनि हालसम्म त्यसको १० प्रतिशत काम सरकारले गर्न नसकेको प्रति असन्तुष्टि जनाए ।
तपाईको प्रतिक्रिया