पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

समाचार

2/15/2019

काठमाडौँ, ३ फागुन । नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ ।
महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा राजु अधिकारीले बताए ।

‘शतपथ ब्राह्मण’ नामक ग्रन्थमा परिस्थिति र मनस्थितिलाई परिष्कृत गर्न अश्वमेध महायज्ञ गरिने उल्लेख छ । समितिका अध्यक्ष एवं गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशवासीलाई साहस तथा बल वृद्धि गरी राष्ट्रलाई समर्थ बनाउन महायज्ञ गर्न लागिएको जानकारी दिए । महायज्ञमा माटोको घोडा बनाएर सजाएर राखिने छ ।

वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महायज्ञमा पाँच लाख पर्यटक आउने अनुमान गरी तयारी भइरहेको जानकारी दिए । ५६ हजार ४४४ जनाले महायज्ञमा आउन अनलाइनका माध्यमबाट नाम लेखाइसकेको जानकारी पनि उनले दिए ।

आयोजक समितिका सहसंयोजक डा अधिकारीले नेपालमा आयोजना गरिएको पहिलो भए पनि आधुनिक कालको ४५औँ महायज्ञले नेपालीलाई अश्वशक्ति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ