जनकपुरधाम, ३० असोज । विमानस्थल तोडफोड आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरुद्ध राजपा धनुषाले जिल्ला बन्दको आह्वान गरेको छ ।
राजपा धनुषा अध्यक्ष मण्डलको बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । सांसद साह पक्राउको विरोधमा कात्तिक २ गते शनिबार धनुषा जिल्ला बन्द गर्ने निर्णय गरिएको राजपा जिल्ला संयोजक प्रमोद यादवले जानकारी दिए । उनका अनुसार बिहीबार नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई र गृहमन्त्री रामबहादुर थापाको पुतला दहन गर्ने निर्णय भएको छ ।
यस्तै कात्तिक १ गते साँझ मशाल जुलुस निकाल्ने राजपाले जनाएको छ । सांसद साहमाथि दर्ता भएको मुद्दा फिर्ता नलिइए अझ कडा आन्दोलन गर्ने राजपा जिल्ला संयोजक यादवले जानकारी दिए ।
यसैबीच राजपा सर्लाहीले सांसद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्दको आह्वान गर्दा जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा सामुदायिक विद्यालय र विभिन्न पसल बजारहरु समेत बन्द छन् ।
राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी सङ्घ सर्लाही जिल्ला संयोजक दिगेश्वर नायकले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए । बन्दको बसैभन्दा बढी प्रभाव मंगलवामा परेको छ ।
तपाईको प्रतिक्रिया