जनकपुरधाम, ५ भाद्र । मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेको बताए । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिका स्थित शिवशक्ति नमूना मा.बव बटेश्वरमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मुल आधार नारी सशक्तिकरण रहेको उल्लेख गरे ।
उनले भने – ‘प्रदेशको समृद्धिको लागि समाजिक रुपान्तरण र समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेकाले नै प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, साइकल वितरणजस्ता कार्यक्रमहरु अघि सारेको छ । ’
प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ग्यारेन्टी समेत गरेको उनको कथन थियो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्य शत्रुधन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गा.पा.का अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री सहितका वक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाए ।
उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ९५ जना छात्राहरुलाई मुख्यमन्त्री राउतले साइकल हस्तान्तरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया