काठमाडौं, ११ भाद्र । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) उपलब्ध भएको छ ।
मालवस्तु कन्टेनरमा लोड वा अनलोड गर्न, त्यसलाई गन्तब्यतिर पठाउन र व्यापारका लागि आएका मालवस्तुलाई तोकिएअनुसार दिशानिर्देश गरी अगाडि बढाउन बन्दरगाह र विमानस्थल नजिक ‘सिएफएस’ राखिन्छ ।
‘ट्रान्जिट’ बन्दरगाह नजिक ‘सिएफएस’ मालवाहक कन्टेनरलाई राख्न र वैधानिक औपचारिकता पूरा भएपछि त्यसलाई अगाडि पठाउन प्रयोग हुने निश्चित थलोको रुपमा रहने गरेको छ ।
तेस्रो मुलुकसँगको नेपालको व्यापारलाई सहज बनाउने उद्देश्यले नेपाल सरकारले भारत सरकारसँग लिजमा लिएको जग्गामा बनाइएको सिएफएस उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उद्घाटन गरेपछि प्रयोगमा आउन सुरु हुनेछ ।
नेपाल सरकारले साढे चार दशकदेखि भाडा तिर्दै आएको जग्गा अहिलेसम्म उपयोग हुन नपाए पनि अब ‘सिएफएस’ बनेर प्रयोगमा आएपछि आयात कारोबारको लागत न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालका अनुसार यो संरचना बन्नु भनेको नेपालको तेस्रो मुलुकसँगको व्यापार व्यवस्थापनमा नेपालले फड्को मार्नु हो ।
कोलकतामा ‘सिएफएस’ उद्घाटन गर्नुअघि मन्त्री यादव हल्दियासमेत जाने कार्यक्रम रहेको ‘एनटिडब्ल्युसी’ कोलकाताले जनाएको छ ।
तपाईको प्रतिक्रिया