मुसहर विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री प्रदान

समाचार

8/4/2019

सर्लाही, १९ साउन । आर्थिक अभाव झेल्दै आइरहेका मुसहर तथा अतिविपन्न डोम, चमार, धोबी समुदायका २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा वर्षभरि पुग्ने स्टेशनरी वितरण गरिएको छ ।

प्रदेश नम्बर २, सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिका वडा नम्बर २ का ती विद्यार्थीहरुलाई विगत तीन वर्षदेखि उक्त सहयोग प्रदान गर्दै आइरहेको छ ।

बबरगंज, बिर्ता बजार र दोनबारी टोल गरी वडा नम्बर २ का २१ जना मुसहर र ७ जना चमार, डोम तथा धोबी समुदायका बालबालिकाहरुलाई शिक्षाको मूलधारमा ल्याउन उक्त सामग्री प्रदान गरिएको छ ।

चन्द्रनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामनारायण महतोद्वारा ती २८ जना मुसहर, चमार, डोम र धोबी समुदायका विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी वितरण गरिएको छ ।

भोर, शक्तिहीनको सशक्तिकरण ः मुसहर समुदायको समग्र उत्थान अभियानको सहजीकरणमा देश विदेशमा बसोबास गर्ने विभिन्न मनकारी व्यक्ति तथा संस्थाहरुको सहयोगमा उक्त पोशाक र स्टेशनरी सामग्रीहरु व्यवस्था गरी वितरण गरिएको भोरका अध्यक्ष राजकुमार महतोले बताएका छन् ।

हेल्पिङ्ग ह्यान्डस नेपाल, एनटियु पिएचडी स्टुडेन्टस सिंगापुर र भोरका सदस्यहरुको आर्थिक सहयोगबाट विगत तीन वर्षदेखि प्रत्येक वर्ष ती विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी प्रदान तथा ट्यूशन पढाउने कार्य भइरहेको छ ।

भोर, शक्तिहीनको सशक्तिकरण ः मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझी मुसहर र भोरको सदस्य उमेश कुमार साहको व्यवस्थापनमा सो पोशाक र स्टेशनरी वितरण कार्य सम्पन्न भएको छ ।

चरम गरिबी, पारिवारिक वातावरण तथा सामाजिक विभेद जस्ता बाधाहरुले गर्दा शिक्षा आर्जनबाट बन्चित मुसहर समुदायलगायत डोम, चमार, र धोवी समुदायका बालबालिकाहरुलाई औपचारिक शिक्षा अध्ययनको मूलधारमा ल्याउने एक सरल, मित्तव्ययी र सृजनात्मक मोडलको कार्यान्वयन भइरहेको छ ।

भोर, शक्तिहीनको सशक्तिकरण ः मुसहर समुदायको समग्र उत्थान अभियानको अगुवाई तथा सहजीकरणमा उक्त सृजनात्मक मोडेलको कार्यान्वयन भइरहेको छ ।

यस मोडेलअन्तर्गत विद्यार्थीहरुलाई विद्यालय वर्षभरि पुग्ने युनिर्फम, स्टेशनरी प्रदान गर्नुको साथै स्थानीय टोलबाट र दलित समुदायकै उच्च शिक्षा अध्य्यन गरिरहेको योग्य व्यक्तिद्वारा दैनिक ट्यूशन पढाउने, विद्यार्थीहरुको अनुगमन गर्ने र विद्यार्थीको परिवारमा अध्य्यनको वातावरण बनाउने जस्ता केही सरल कार्यहरु संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ