राजनीतिक प्रतिशोध साध्न बाढीपीडितको प्रयोग

समाचार

7/27/2019

रौतहट, ११ साउन । बाढीले दिएको पीडाबाट आहात भएका पीडितहरुलाई राजनीतिक रुपमा स्वार्थको निम्ति प्रयोग गरिएको छ । प्रसंग रौतहट जिल्लाको राजदेवी नगरपालिकाको रहेको छ ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको पूर्ण बहुमत संख्या रहेको उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका धीरेन्द्र कुमार सिंह र एउटा वडा अध्यक्षसहित दुई जना जनप्रतिनिधि रहेका छन् ।

नगरसभा हुनु अगावैदेखि नगर प्रमुखका चर्को विरोध गर्दै आएकी उपप्रमुख अंशु सिंहले बाढीबाट पीडित भएका बखतमा पीडितलाई उचालेर मेयरसँग प्रतिशोध लिन खोजेकी छन् ।

नगरपालिकाअन्तर्गत पर्ने बागमती नदीको स्पर कटान जारी रहेको अवस्थामा मर्मतमा दिनरात खटिरहेका प्रमुखको विरोधमा गलत प्रचार गरी पीडितलाई भ्रममा पारी नगर प्रमुख बाहिर गएको अवस्थामा मौकाको फायदा उठाउने र सस्तो लोकप्रियता कमाउने उद्देश्यले नगरपालिका कार्यालयमा प्रदर्शन गराएकी हुन् ।

मेयरको विरुद्धमा रहेकी उपमेयर र २ वडा अध्यक्षले नगरपालिकाको सम्पूर्ण वडा प्रभावित भएको र नभएको वडामा राहत लिन नगरपालिकामा आउनु पर्ने भनी झूठो माइकिंग गरेको कारण पीडित महिला पुरुष राहत पाउने आशमा कामकाज छोडेर चर्को घाममा राहत पाउनु पर्ने आवाज उठाएका थिए ।

९ वटा वडा अध्यक्षमा १, ७ र ९ का वडा अध्यक्ष उपस्थित रहेका थिए भने नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना वडाअध्यक्ष कार्यालय बाहिर रहेका थिए ।

कुनै ठाउँमा राहत माग्नु पर्ने त कुनै ठाउँमा राहत लिने भनी पीडितहरुलाई भनिएको नगरपालिका घेराउ गर्न पुगेका महिलाहरुले बताएका छन् ।

मेयरले अहिलेसम्म केहि राहत दिएन, हामीलाई राहत दिनु पर्यो भन्दै थिए पीडितहरु, तर उनीहरुको के दोष नेताहरुले आफ्नो रिस साध्न यस्तो चाल चलेको रैछ ।

गएको २८ गतेका दिन आएका बाढीले घरमा रहेका खाद्यान्न सामग्री नस्ट पुर्याउनुको साथै घरहरु पूर्ण र आंशिक रूपले क्षतिग्रस्त पारिदिएकोले पीड़ामा छट्पटिँदै रहेका पीडितलाई राहतको आशा इच्छालाई निजी स्वार्थको निम्ति पीडितको भावनासँग खेलवाड़ गर्नु घाउँमा मलहमको साटो नून हाल्नु नै हो ।

बाढ़ी आएको भोलीपल्ट प्रत्येक वडाअध्यक्ष मार्फत चामल दाल, तरकारी, खाने तेलसमेत पुर्याएका नगरप्रमुख सबै पीडि़तहरुलाई घर घरमा राहत पुर्याउने तयारी समेत गरेको अवस्थामा पीडितलाई उचाल्ने काम भएको हो ।

मुख्य गेटमा पीडितहरु उभिएका थिए, कार्यालयभित्र उपमेयर, वडाअध्यक्ष र नेकपाका नेता बसेर उपमेयरको अध्यक्षतामा बैठक बसेर एक हप्ता भित्र राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

निर्णय सुनाएपछि केहि छिन आक्रोशित भएका स्थानीयहरु झूठो आश्वासन दिएर झुक्याएको भनी आलोचना गरेका थिए । नगरपालिकामा खाद्यान्न सामग्री मिल्ने भनी भनेकोले आएको एक जना स्थानीयले प्रतिक्रिया दिएका छन् ।

नगर प्रमुख सिंहले त्रिपाल खरीद गरिएको र चामल, दाल लगायतका सामानहरुको अर्डर दिइसकिएको बताएका छन् । आर्थिक मसान्तको कारण खाता बन्द रहेकोले समस्या उत्पन्न भएको बताए ।

मेयर सिंहले बागमतीको कटानले बस्ती समाप्त हुने जोखिम रहेको बेला राजनीतिक खेल भैरहेको टिपण्णी गरे ।

उनले भने अहिले सबैले एकजुट भएर लाग्नु पर्ने अवस्था रहेको छ तर केहि स्थानीय नेता जनता भड़काएर राहतको कार्य प्रभावित गर्न षड्यन्त्र गरेको आरोप लगाए ।

नेकपाका जिल्ला कमिटी सदस्य तथा मेयर प्रत्यासी भिखारी प्रसाद यादवले बाढ़ी आएको २ हप्ता बितिसक्दा पनि राहत वितरण गर्न नसक्नु दुःखद भएको बताए ।

उनले निर्वाचित जनप्रतिनिधिले आफ्नो दायित्व निर्वाह गर्नु पर्नेमा अहिलेसम्म त्यस्तो नदेखिएको दावी गरे । नेता यादवले छिटोभन्दा छिटो राहत उपलब्ध गराउन मेयरसँग जोड़दार माग गरेका छन् ।

समयमा राहत वितरण गरिएन भएन जनताले नछोड्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ