राष्ट्रिय आपत्काल घोषणा गर्न नेपाल संघीय समाजवादी पार्टीको माग

समाचार

7/13/2019

काठमाडौं, २८ असार । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले राष्ट्रिय आपत्काल घोषणा गर्न माग गरेको छ ।

अध्यक्ष अन्सारीले शनिबार एक विज्ञप्ति जारी गर्दै लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा हुन गएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सरकारको ढिलासुस्तीप्रति निन्दा गरेका छन् ।

उद्धार कार्यमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन तथा आम जनसमुदायलाई आह्वान गरेका छन् । साथै, सरकारले मुतकका परिवारलाई राहतस्वरुप रु. १० लाख दिनुपर्ने सरकारसँग माग गरेका छन् ।

यसैगरी, अध्यक्ष अन्सारीले घाइतेहरु पूर्णतया तन्दुरुस्त नभएसम्म उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्नुपर्ने, जसको घर भत्केको छ उसको सुरक्षित घर बनाइदिनुपर्ने, पीडितहरुको क्षतिग्रस्त बालीनाली तथा बगैंचाहरुको क्षतिपूर्ति दिनुपर्ने र मृतकको परिवारबाट कमसेकम एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने सरकारसमक्ष माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ