वीरगंज कारागार नयाँ स्थानमा सार्न सांसद यादवको माग

समाचार

8/26/2019

काठमाडौं, ९ भाद्र । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगंज कारागार नयाँ स्थानमा सार्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले वीरगंजस्थित कारागार जीर्ण हुँदै गएकोले त्यसलाई अन्तै सार्न माग गरेका हुन् ।

सांसद यादवले जीर्ण अवस्था सँगसँगै अन्य धेरै कारणहरुले पनि कारागार पुनस्र्थापना गर्नु पर्ने माग गरेका छन् ।

‘वीरगंज कारागारको अवस्था जीर्ण रहेको छ, उक्त कारागारलाई पुनस्र्थापन गरेर नयाँ निर्माण गर्न अति आवश्यक देखिएको छ’, विशेष समयमा बोल्दै सांसद प्रदीप यादवले भने, ’सुरक्षाको दृष्टिकोणले, शहरको विचमा भएको हुनाले र अन्य कयौं कारणले पनि कारागारलाई अन्य सारेर नयाँ निर्माण गर्न आवश्यक छ ।’

उनले २०७२ सालमा विज्ञहरुको एक टोलीले गरेको अध्ययनलाई उदृत गर्दै कारागारलाई पुनस्र्थान गर्न आवश्यक भएको बताए ।

विक्रम सम्बत १९९० को विनाशकारी भूकम्पमा काठमाडौँको केन्द्रीय कारागार क्षतिग्रस्त भएपछी वैकल्पिक रुपमा तत्कालिन राणा सरकारले उक्त कारागार बनाउने निर्णय गरेको सांसद यादवले भने । निर्माण भएको बेला कैदीको संख्या न्यून रहे पनि अहिले कैदीको संख्या बढेर १२ सय ८० पुगेको सांसद यादवले जानकारी गराए ।

सांसद यादवले ८ दशक बितिसक्दा समेत कारागारको अवस्थामा कुनै परिवर्तन नभएको जिकिर गरे । ’८ दशक बितिसक्दा आज कैदीको संख्या ३ गुणाले बढेको छ,’ उनले सभामुखको ध्यानाकर्षण गराउदै भने, ’तर कारागारको अवस्था त्यही छ, आकार त्यही छ तर कैदीको संख्या भने बढ्दै गएको छ ।’

पुरानो प्रविधि प्रयोग गरेर राणा कालमा निर्मित कारागारको अवस्था जीर्ण रहेकोले कुनै पनि समय मानवीय क्षति हुन सक्ने सांसद यादवले चिन्ता व्यक्त गरे ।

उनले निर्माण बेला कारागार शहर भन्दा बाहिरा रहे पनि अहिले बढ्दो शहरीकरणका कारण कारागार शहरको बीचमा पुगी सकेकोले कारागार पुनस्र्थान गर्न पर्ने आवश्यक रहेको प्रस्ट्याए ।

उनले वीरगंज महानगरपालिकाले कारागार पुनस्र्थान गर्न नगर क्षेत्रभित्र जग्गा समेत उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउँदै कारागारलाई नयाँ, प्राविधिक र आधुनिक ढंगले नयाँ स्थानमा निर्माण गर्न सभामुख मार्फत नेपाल सरकारसँग माग गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ