काठमाडौं, ७ बैशाख । विवेकशील साझा पार्टीले देशका सातै प्रदेशका विभिन्न स्थानहरुमा हयात/बालुवाटार जग्गा प्रकरणका बारेमा सरकारलाई झक्झक्याउँदै र सबै खालका भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै विरोध प्रदर्शनहरु गरेको छ ।
शनिबार गरेको खबरदारी कार्यक्रमहरुमा पार्टीका संयोजक, केन्द्रीय नेतृत्वहरु सदस्यहरु र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
प्रदेश नं १ मा बिर्तामोडको मुक्ति चोक र इटहरी बजार, प्रदेश नं २ मा वीरगन्जको घण्टाघर र सिरहाको लहान बजार, प्रदेश नं ३ मा भरतपुरको चौबिसकोठी र काठमाडौँको माइतीघर मण्डला, गण्डकी प्रदेशमा कावासोतीको फलफुल चोक र पोखराको श्रृजना चोक, प्रदेश नं ५ मा बुटवलको ट्राफिक चोक, कर्णाली प्रदेशमा वीरेन्द्र चोक वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीको पार्कमोडमा खबरदारी कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा पार्टी संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारको न्यूनीकरण नभई देश रुपान्तरण सम्भव नभएको बताएका छन् ।
हायात/बालुवाटार जग्गा प्रकरणको बारेमा यही बैशाख २ गते पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको थियो ।
तपाईको प्रतिक्रिया