काठमाडौं, ११ साउन । नेपाल भ्रमण वर्ष २०२० आउन ५ महिना हाराहारी मात्रै बाँकीहुँदा बाघ हेर्न र बस्न नेपाल विश्वको उत्कृष्ठ ठाँउ भनेर विश्वका प्रतिष्ठित पर्यटन प्रकाशनहरुले लेखेका छन् ।
लोन्ली प्लानेटले बाघको उत्कृष्ठ गन्तव्य र ट्राभलरले बस्नको लागि सबैभन्दा राम्रो लज भएको क्षेत्रमा नेपाल समेटेर पर्यटन फिचरहरु लेखेका छन् ।
लोन्ली प्लानेटले विश्वका मुख्य चार बाघ हेर्ने गन्तव्यमा नेपाललाई दोश्रो नम्बरमा सूचीकरण गरेको छ । सन् १९७२ देखि अस्ट्रेलियाबाट संचालित विश्वको प्रसिद्ध पर्यटन प्रकाशन गृह लोन्ली प्लानेटमा जुलाईमा अपलोड भएको सरा रेडको फिचरमा नेपालको बाघ गन्तव्यमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ ।
भारतको मध्यप्रदेश, नेपालको बर्दिया राष्ट्रिय निकुन्ज, बंगलादेशको सुन्दरवन क्षेत्र र रसियाको दुर्मिन्स्कोए आरक्ष विश्वका बाघ हेर्ने सबै भन्दा राम्रा चार गन्तव्य भएको लोन्ली प्लानेटले लेखेको छ ।
२६० चराका प्रजाति, बँदेल, गोही र लङ्गुर जस्ता जिवजन्तुसमेत पाइने बर्दियामा ११० भन्दा धेरै बंगाली बाघ पाउने लोन्ली प्लानेटले उल्लेख गरेको छ । अक्टोबरदेखि मार्चको जाडोको समयमा घाम ताप्न निस्कने बाघहरुलाई जंगल सफारीबाट सहजै देखिने लोन्ली प्लानेटले लेखेको छ ।
यस्तै ट्राभलरले सन् २०१९ मा बस्नको लागि उत्कृष्ठ १९ गन्तव्यमा नेपाललाई समेटेको छ । चितवनको टाइगर टप्स थारु लजलाई विश्वका सबैभन्दा राम्रा १९ वटा बस्ने लजमा अस्ट्रेलियाको चर्चित पर्यटन पोर्टल ट्राभलरले समेटेको छ ।
तपाईको प्रतिक्रिया