वीरगंज, २७ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले खेलकुद क्षेत्रले समाज र देशलाई जोडी राख्न अहम् भूमिका निर्वाह गरेको बताएका छन् ।
वीरगंजको नारायणी रंगशालाको क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको दोस्रो वीरगंज च्याम्पियन टी २० लिग क्रिकेट टुनामेन्ट २०७५ प्रतियोगिताको ब्याटिङ्ग गरेर खेलको उद्घाटन गर्दै सांसद यादवले देशमा भाषा, धर्म, समुदाय र जातजातिको बीचमा विभेद भइरहेका बेला खेल जगतले समाज र देशलाई जोड्ने एउटा मजबुत कडीको रुपमा काम गरिरहेको बताए ।
खेल जगत एक क्षणको मनोरञ्जन होइन, यसले समाज र देशलाई नै जोड्ने काम गर्दछ, त्यसकारण यसको विकासमा सबैको सहयोग आवश्यक रहेको सांसद यादवले जोड दिए ।
वीरगंजका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा देशको नाम विश्वमा पहिचान गराउन राम्रो प्रदर्शन तथा कैयौ सिरीजहरु समेत जितेको उदाहरण सुनाउदै सांसद यादवले खेलाडीहरुको मनोबल उच्च राख्न राज्यले खेल जगतलाई विशेष प्राथमिकता राखेर सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, प्रहलाद गिरी, वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र पटेल, वडा नम्बर १२ का वडा अध्यक्ष रामदरश कुशवाहा, पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी, संघीय समाजवादी फोरम नेपालका महानगर अध्यक्ष इश्वर यादव, समाजवादी विद्यार्थी फोरमका सुजित गिरी, कार्यक्रम संयोजक मुर्तुजा हवारी लगायतको उपस्तिथि रहेको थियो ।
आजको पहिलो खेल नेपाल प्रहरी भर्सेस भारतको बेतिया बीच हुँदैछ । चैत्र ३० गतेसम्म चल्ने क्रिकेट टुनामेन्टमा नेपाल र भारतका गरी ८ वटा टिम सहभागी हुने भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य युनाइटेड क्रिकेट क्लबका सचिव घनश्याम गुप्ताले गरेका थिए भने कार्यक्रम संचालन राजुल हवारीले गरेका थिए । उद्घाटन कार्यक्रम युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासीम हवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया