समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ पदमार्ग

समाचार

5/18/2019
सिन्धुली, ४ जेठ । समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ ।
 
नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग निर्माण सुरु गरेको हो ।
 
नेपाल एकिकरण गर्ने पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण सुरु गरिएको हो । 
 
पदमार्ग निर्माणमा दैनिक ८५ जना कामदार खटिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । घण्टेबाट सुरुभएको पदमार्ग निर्माण ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढीहुँदै भिमगढ पुगेको छ ।
 
‘दैनिक ८० देखि ९० जना कामदार जंगलमै बास बसेर काममा खटिएका छन्,’ अध्यक्ष घिमिरेले भने, ‘सबैको सक्रिय सहभागिताले पदमार्ग निर्माण सोचेभन्दा तीब्र रुपमा भइरहेको छ ।’
 
कामदारले बाटोमा पर्ने चौतारा, प्रतीक्षालय निर्माण, मर्मत गरिरहेका छन् । पदमार्गमा पर्ने खोरभञ्ज्याङमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । यस्तै प्रतीक्षालय जीतपुरगढीमा निर्माण हुँदै योजना छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेमा पदमार्ग सुरु हुने कलात्मक प्रवेशद्वार निर्माण भइरहेको छ ।
 
‘मदन भण्डारी लोकमार्गमा यात्रा गर्नेहरू पदमार्गहुँदै एक घण्टामै ऐतिहासिक हरिहरपुरगढी पुग्न सक्छन्, पदमार्गका अध्यक्ष लीलानाथ घिमिरेले भने, चौधौं सताब्दीमा बनेको ऐतिहासिक किल्ला हेर्न हरेक नेपालीलाई यो पदमार्गले सघाउने छ ।’  
 
तत्कालीन गोर्खाली सेनाले नेपाल एकिकरण क्रममा हिँडेको बाटोलाई पर्यटकीय पदमार्ग बनाउन समृद्ध सिन्धुली अभियानले काम थालेको हो । अभियानलाई नेपाली सेनाले पदमार्ग निर्माणमा सघाउने भएको छ ।
 
सेनाको लेफ्टिनेन्टको नेतृत्वमा ४० जनाको समुह हरिहरपुरदेखि पदमार्गको पाइलट ट्रेल निर्माण गर्दै सिन्धुलीगढीतर्फ अगाडि बडेको सिन्धुलीस्थित बर्दबहादुर गणका गणपति राजिव थापाले जानकारी दिए ।
 
‘नागरिक अधियन्ताहरूसँग मिलेर हामी तत्कालीन गोर्खाली सेनाहरू हिँडेको बाटोलाई पर्यटकीय पदमार्ग निर्माणमा सघाइरहेका छौं,’ उनले भने, ‘पहिलो चरणमा अप्ठारा ठाउँलाई हिँड्न लायक बनाउने, विश्राम गर्न चौतारा, प्रतीक्षालय बनाउने, संकेत चिन्हरू राख्ने खाम हाम्रो टोलीले गर्ने छ । दोस्रो चरणमा हामी पदमार्ग निर्माण उपभोक्ता समितिले निर्माण गरेर बाँकी रहेको सिन्धुलीगढीसम्मको सबै पदमार्ग निर्माण गर्ने योजनामा छौं ।’
 
एकिकरण पदमार्गलाई प्रबर्धन गर्ने सेनाको नीति अनुसार हरिहरपुरगढी र सिन्धुलीगढी पदमार्ग निर्माण थालिएको उनले जानकारी दिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ