सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको आदेश

समाचार

10/16/2019

जनकपुरधाम, २९ असोज । जनकपुर विमानस्थल तोडफोडको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

मंगलवार काठमाडौंबाट पक्राउ परेका सांसद साहलाई आज जिल्ला अदालत धनुषामा पेश गरिएको थियो । अदालतले पक्राउ परेको दिनदेखि लागू हुनेगरी ४ दिन अर्थात् शुक्रबारसम्मको समय दिएको हो । 

पाँचौं दिन शनिबार परेकाले आइतबारसम्म सांसद साह हिरासतमै रहनुपर्ने सम्भावना देखिएको छ । प्रहरीले भने १० दिनको समय माग गरेको थियो ।
आइतवार अदालत खुलेपछि कि त कि अभियोग पत्र दायर गर्नुपर्ने कि त म्याद थपका लागि अदालतमा पेश गर्नुपर्ने जिल्ला अदालत धनुषाका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए । 

उडानमा ढिलाइ गरेको भन्दै सांसद साहले सोमवार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । सोही आरोपमा उनलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरिएको थियो ।
अदालतमा पेश गर्ने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले आफूलाई न्यायपालिकामाथि पूर्ण विश्वास रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ