काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेकालाई हिचकिचाहटबिना पार्टीमा फर्किन आग्रह गरेका छन् ।
उनले बिहीबार विज्ञप्ति जारी गर्दै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा लागेका तर अहिले अलमलमा परेकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका हुन् ।
‘निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नु भन्दापूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यन्त्र अलमलमा पर्नु भएका पार्टीका सम्पूर्ण साथीहरूलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट पार्टीमा फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा अगाडि बढ्नु हुन अपिल गरिन्छ,’ यादवको विज्ञप्तिमा उल्लेख छ ।
जसपामा विवाद हुँदा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो ।
यादवले केही अग्रमन नचाहने, उपलब्धिलाई उल्टाउन चाहने यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरूले पार्टीलाई षड्यन्त्रमूलक ढंगले फुटाउन खोजेको बताए ।
ती शक्तिहरू पार्टीलाई ‘फुटाउ र राज्य गर’ नीति अनुरूप सक्रिय रहेको यादवले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया