देश बनाउन एक चरण कठोर यात्रामा हिंड्नैपर्छ : डा.अहिराज

समाचार

काठमाडौं, २५ भाद्र । मधेश मामिलाका जानकार तथा प्रदेश नं. २ का पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले देश बनाउन एक चरण कठोर यात्रामा हिंड्नैपर्ने बताएका छन् ।

डा.अहिराजले नेपालीहरूको भूमि, भावना र भविष्यको निर्धारण नेपालीहरूकै हातमा हुनका निम्ति विशेष किसिमका देशकेन्द्रित नीतिहरू अवलम्बन गर्ने धारणा राखेका हुन् ।

उनी भनेका छन्, ‘राजनीति, अधिकार, द्वन्द्व व्यवस्थापनको नाउँमा देशबाहिरका शक्तिकेन्द्रतर्फ ताक्नेहरूलाई दण्डित गर्नुपर्ने ।’

डा. अहिराजका केही नीतिहरु:

• नेपालभित्रका समस्याहरूलाई दीर्घकालीन समाधान गर्न सिंगो देशलाई ‘एक देश, दुई दल र तीन प्रदेश’को नीतिमा अगाडि बढाउनुपर्छ । जसका लागि राष्ट्रियसभालाई गैरराजनीतिक पात्रहरू (विषयगत विज्ञहरू)को सभा बनाउने, प्रतिनिधिसभा शतप्रतिशत निर्वाचितहरूको सभा बनाउने र स्थानीय तह गैरदलीय बनाउने ।

• अधिकारका नाममा खुलेका ट्रेड युनियनहरूलाई केही समयका लागि स्थगन गराउने । 

• शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, पत्रकारिता लगायतका क्षेत्रमा आबद्ध पात्रहरूलाई गैरराजनीतिक रूपबाट सवलीकरणको माध्यमले सशक्त बनाउँदै जाने । 

• आरक्षण खारेज गरी सवलीकरणको माध्यमले संरचनाहरू साझा बनाउने । 

• नेतालाई नीति बनाउने काममा मात्र सदुपयोग गर्ने । जनप्रतिनिधिलाई बजेटभन्दा टाढा राख्ने, अंगीकृतहरूलाई राजनीतिक अधिकार नदिने, भ्रष्टाचारी र तिनका नयाँ पुस्तालाई सरकारी जागिर भन्दा टाढा राख्ने । 

• सम्पतिको पुस्तान्तरण नहुने कानून बनाउने, दातृ निकाय, दूतावास र आइएनजीओहरूले सरकारी च्यानल मात्र प्रयोग गर्न पाउनुपर्ने ।

• गैरनागरिकलाई नागरिकता दिने र सिफारिस गर्नेलाई आजीवन श्रमकैद गर्ने । फर्जी नागरिकता वा बहुनागरिकता धारण गर्नेलाई सर्वस्व हरणसहित आजन्म श्रमकैद गर्ने ।

• गैरसरकारी संस्थाहरूले आफ्ना सदस्यभन्दा बाहिर सहयोग लिन नपाउने । दूतावासहरूमा दल वा नागरिकस्तरमा सम्पर्क र सहयोगलाई कडा निगरानीमा राख्ने । 

• समभावमा आधारित समाज निर्माण गर्न व्यक्तिगत र पेशागत नैतिकतालाई कडाइका साथ लागू गर्ने । 

• अपराधी प्रमाणित भएका व्यक्तिहरूलाई अनिवार्य श्रमकैदको व्यवस्था गर्ने । पेशागत मर्यादामा चुकेका पेशाकर्मीहरूलाई दोहोरो सजायको व्यवस्था गर्ने । 

• नेपालीहरूको भूमि, भावना र भविष्यको निर्धारण नेपालीहरूकै हातमा हुनका निम्ति विशेष किसिमका देशकेन्द्रित नीतिहरू अवलम्बन गर्ने । 

• राजनीति, अधिकार, द्वन्द्व व्यवस्थापनको नाउँमा देशबाहिरका शक्तिकेन्द्रतर्फ ताक्नेहरूलाई दण्डित गर्ने । 

• नेपाललाई समभावमा आधारित साझा र समृद्ध, स्वावलम्बी राष्ट्रको रूपमा विश्वमै अग्रणी स्थान दिलाउने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ