काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले चारबुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।
शुक्रबार संघीय लोकतान्त्रिक मोर्चाको बैठक राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो अध्यक्षतामा राष्ट्रिय मुक्ती पार्टी नेपालको केन्द्रीय कार्यालय शान्तिनगरमा बसेको थियो ।
बैठकमा जसपा नेपालको तर्फबाट उपेन्द्र यादव, राजकिशोर यादव,राम कुमार शर्मा, लोसपा नेपालको तर्फबाट महन्थ ठाकुर, ज्ञानेन्द्र झा, मुकेश झा, जनमत पार्टीको तर्फबाट अब्दुल खान, राष्ट्रिय मुक्ति पार्टीको तर्फबाट राजेन्द्र महतो, केशव झा,अनिल महासेठ, चन्द्रनारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लालबिर चौधरी, जनता प्रगतिशील पार्टी नेपालका तर्फबाट हृदयेश त्रिपाठी र डा.शिवजी यादव र तमलोपाको तर्फबाट वृषेश चन्द्र लाल उपस्थित रहेका थिए ।
सो बैठकले निम्न बमोजिमका निर्णयहरु गरेको छः
१. मोर्चाको अर्को बैठक बस्नु अघि मोर्चाका सबै घटक दलहरुबाट सुझाव लिई कार्यविधिलाई पुर्णता दिई मोर्चाको आउने बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरियो।
२. आदिवासी जनजातिहरुको सवालमा काम गरिरहेका राजनीति दल र संगठनहरुसंग सहकार्य गर्ने निर्णय गरियो, र सो कार्यको लागि मोर्चाको सचिवालयले सहकार्यको लागि संवादलाई अगाडि बढाउने निर्णय गरियो ।
३. भिजिट भिसाको सम्बन्धमा छानविन गरि सत्य तथ्य सार्वजनिक गरिनुपर्ने र मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरियो ।
४. हिजो मित्र राष्ट्र भारतको अहमदावादस्थित विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटना भएको अकल्पनीय घटनाप्रति बैठकले गहिरो दुख व्यक्त गर्दछ । उक्त दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा बैठकले हार्दिक समवेदना व्यक्त गर्दछ ।
तपाईको प्रतिक्रिया