सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ मा बुधबार ‘थ्री फेज कृषी विद्युतिकरण’ कार्यको औपचारिक शुभारम्भ गरेका छन् ।
कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको यो योजनाले वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
विद्युतिकरण कार्य सम्पन्न भएपछि ती क्षेत्रका कृषकहरूले अब डिजेलपम्पमा निर्भर हुनु नपर्ने नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिएका छन् । उनका अनुसार सिंचाइका लागि आवश्यक पर्ने विद्युत महसुल नगरपालिकाले नै व्यहोर्नेछ । “कृषकहरूको आर्थिक बोझ कम गर्न र उनीहरूको उत्पादनमा वृद्धि ल्याउन हामीले यस्तो निर्णय गरेका हौं,” नगरप्रमुख माझीले भने ।
मुख्यमन्त्री सिंहले उद्घाटन कार्यक्रममा बोल्दै कृषि विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै प्रदेश सरकारले यस्ता योजनालाई प्राथमिकतामा राखेको उल्लेख गरे । “हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौं, त्यसका लागि सिँचाइ, मल, बीउ र बजार सुनिश्चित गरिनु पर्छ। यस्ता कार्यक्रमहरूले त्यसको आधार तयार गर्छ,” मुख्यमन्त्री सिंहले भने ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा किसानहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको समन्वय नगरपालिकाको कृषि शाखाले गरेको थियो ।
थ्री फेज विद्युतिकरणपछि किसानले सहज रूपमा मोटर पम्प चलाउन सक्ने र समयमै खेतमा पानी पु¥याउन सक्ने भएकाले उत्पादकत्वमा उल्लेख्य वृद्धि हुने आशा गरिएको छ ।
तपाईको प्रतिक्रिया