राकेश यादव, रौतहट । जिल्लाको दुर्गा भगवती गाँउपालिकाका पूर्वअध्यक्षसहित ३ जनलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले अनुमति प्रदान गरेको छ ।
जग्गा सम्बन्धी रकम ठगी गरेको मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले अनुमति माग गर्दा जिल्ला अदालतले दुर्गा भगवति गाँउपालिका वडा नम्बर २ का निवासी अरुण साहलाई पक्राउ पूर्जी जारी गरेको हो ।
गरुडा ६ पोठियाहीका संतोष कुमार चौधरीले काठमाण्डौ नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठ संग सर्लाही जिल्लाको हरिपुर वडा नं. ७ मा रहेको जग्गा खरिद गर्नका लागी भएको सम्झौता बमोजिम विभिन्न चरणमा १ करोड ४३ लाख रकम नगद र चेक मार्फत बुझाएका थिए ।
सो जग्गा खरिदविक्री प्रकरणमा जोडिएका पूर्व गाँउपालिका अध्यक्ष साहले बैंक मार्फत १० लाख रुपैंया लिएर चौधरीको नाममा जग्गा पास गराइदिने आश्वासन दिएका थिए ।
जग्गा खरिदकर्ता चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौ १९ गते अरुण साहलाई चेक दिए पनि उनले जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साह माथि १ करोड ४३ लाख ५० हजार ठगी गरेको ठगी मुद्दा दायर गरेकोमा सो कसुरमा अनुसन्धान गर्न प्रहरीले न्यायपालिकाको अनुमति लिएको हो।
“पूर्व पालिका अध्यक्ष सहित तिन जनालाई पक्राउ पूर्जी जारी भएको छ ।” ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले भने “मुख्य अभियुक्तहरुसँगै पूर्व अध्यक्ष साहलाई पनि प्रहरीले कानून बमोजिम पक्राउ गर्ने तयारी गरेका छौ ।”
तिनै जनालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत गौरलाई जेठ १३ गते अनुमति माँग गरे बमोजिम अदालतबाट पक्राउ पूर्जी जारी डिएसपी कार्कीले बताए । पूर्व गाउपालिका अध्यक्ष साह पहिले देखि नै जग्गा खरिद बिक्रि गर्ने कार्य गर्दै आएका बुझिएको छ।
तपाईको प्रतिक्रिया