‘जनकपुरधाम–चितवन धार्मिक मार्ग निर्माणमा प्रतिवद्ध’

समाचार

चितवन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचीन वाल्मीकि आश्रमको अध्ययन तथा अवलोकन गरेका छन्।

आश्रम क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व गहिरो रहेको उल्लेख गर्दै उनले सो स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्।

मुख्यमन्त्री सिंहले आइतबार आश्रमको अवलोकनपछि सितामाताले पाताल लोक प्रवेश गरेको पवित्र स्थलमा पूजा–अर्चना गर्दै धार्मिक ऊर्जा अनुभव गरेको बताए। “चितवनको माडीमा रहेको यो स्थल धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ,” उनले भने, “यदि जनकपुरधाम र वाल्मीकि आश्रमलाई धार्मिक मार्गद्वारा जोड्न सकियो भने धार्मिक पर्यटनको सम्भावना अझ प्रगाढ बन्नेछ।”

उनले आश्रमसम्म पुग्न अझै पनि पर्याप्त बाटो नपुगेकोमा चिन्ता व्यक्त गरे। संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग र सरोकारवाला निकायको ध्यान तत्काल आकृष्ट गराउँदै उनले पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताए।

“धार्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्दै क्षेत्रको समुन्नत विकास, रोजगारी सिर्जना र पर्यटन विस्तारका लागि जनकपुरधामदेखि वाल्मीकि आश्रमसम्मको धार्मिक मार्ग निर्माणमा मधेश प्रदेश सरकार प्रतिवद्ध छ,” मुख्यमन्त्री सिंहले भने, “धार्मिक पर्यटन हाम्रो संस्कृतिको मेरुदण्ड हो, यसको प्रवद्र्धनमा म सधैं अग्रसर रहने छु।”

वाल्मीकि आश्रमसँग सम्बन्धित धार्मिक आख्यान, सीता माता र रामायणसँगको सम्बन्ध, र आसपासका प्राकृतिक सौन्दर्यले यो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको स्थानीयको विश्वास छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ