काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्नै पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेशको सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
उनले मधेश प्रदेश सरकारले सार्वजनिक गरेको वार्षिक कार्यक्रम तथा बजेट (रेडबुक) २०८२/८३ मा जनमत पार्टीको नीति, सिद्धान्त र भिजनलाई बेवास्ता गरिएको भन्दै गम्भीर असन्तोष प्रकट गरेका छन् ।
डा. राउतले जनमत पार्टीले जनता बीचमा गएर उठाएका तथा सिफारिस गरेका योजनाहरू रेडबुकमा समावेश नहुनु र भए पनि न्यून बजेट मात्र छुट्याइनु दुःखद भएको बताएका छन् । “सडकमा जनतासँग प्रत्यक्ष संवाद गर्दै ल्याइएका कार्यक्रम ५–५ लाखमा सीमित गरिएका छन्, तर बिचौलिया वा अन्य पार्टीमार्फत आएका योजनामा २५–५० लाखदेखि २–४ करोडसम्म बजेट राखिएको देखिन्छ,” उनले आक्रोश पोखे ।
विशेष गरी सप्तरी–२ क्षेत्रको योजनाहरूप्रति गरिएको बेवास्ता ‘राजनीतिक प्रतिशोध’ भएको उनको आरोप छ । “सिरियली रूपमा तलमाथि अरूको योजनामा करोडौं छन्, तर बीचमा मेरो क्षेत्रको योजना आयो भने ५ लाख मात्रै! कस्तो विडम्बना!” उनले भने ।
अध्यक्ष राउतले पछिल्लो एक महिनामा मधेश सरकारअन्तर्गत मिडिया काउन्सिल, चलचित्र विकास बोर्ड, खेलकुद परिषद् जस्ता निकायमा गरिएको दुई दर्जनभन्दा बढी राजनीतिक नियुक्तिमा समेत जनमत पार्टीको उपेक्षा भएको दाबी गरेका छन्। “अन्य पार्टीहरूले भागबण्डा पाए, तर जनमत पार्टीबाट एउटा पनि नियुक्ति भएन,” उनले गुनासो गरे ।
पार्टीकै नेतृत्वमा सरकार हुँदा पनि पार्टीको निर्देशन अवमूल्यन भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “सरकार सञ्चालनमा पार्टीको हस्तक्षेप नहुँदा कार्यकर्तामा आक्रोश हुनु स्वाभाविक हो।”
तपाईको प्रतिक्रिया